मेरो राजनीति निजी स्वार्थपूर्तिका लागि होइन, समाजसेवाका लागि हो : स्वतन्त्र उम्मेदवार साह

स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार हुनेहरूको ताँती लाग्यो । ठूला प्रमुख दलहरुप्रति जनतामा व्याप्त विकर्षणको लाभ लिन हरेक तह, तप्का र क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरू खडा भएका छन् । 

धनुषामा पनि ठूला दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती खडा गरिरहेका छन् । यिनै स्वतन्त्रहरुको बीचमा छन्, प्रदेशसभा सदस्य पदका उम्मेदवार हरिशंकर साह । उनी पछिल्लो लहरबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवारी दिएका भने हैनन् । 
साहले जनताको समस्या नै आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै जनताकै लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताएका छन् । 

यसैबीच, धनुषा क्षेत्र नम्बर–३ (ख)का स्वतन्त्र उम्मेदवार हरिशंकर साहले शनिबार घरदैलो सम्पन्न गरेका छन् । प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार हरिशंकरले आफ्नो क्षेत्रका १५ वटै वडाको घरदैलो सम्पन्न गरेका हुन् ।

उनको घरदैलोमा सयौँ स्थानीय पनि सहभागी भएका थिए । घरदैलोका क्रममा उम्मेदवार साहलाई मतदाताको घरमा पुग्दा उनीहरुले नै खानासमेत खुवाउने गरेका थिए ।
 
घरदैलोपश्चात् उम्मेदवार साहले विकासका निम्ति आफ्नो जित अपरिहार्य रहेको बताए । उनले मतदातासँग आफ्नो अमूल्य मतका लागि अपिल गरेका छन् ।

साहले जनताले आफूलाई साथ र सहयोग गर्ने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताए । साहले आफू स्वतन्त्र निर्वाचित हुँदा जनताको प्रतिनिधिको रुपमा पनि स्वतन्त्र नै रहने र जनताको म्याण्डेटविना कुनै पनि हालतमा विश्वासघात नगर्ने दाबीसमेत गरे ।

आफ्नै भिजन र लोकप्रियताका आधारमा चुनाव जित्ने साहले बताए । ‘मेरो मूल नारा पूर्वाधार विकास हो । अरुले पनि यसै भन्छन्, तर वाचा पूरा गर्दैनन् । मचाहिँ वाचा गरेपछि लागू गरेरै छाड्ने खालको मान्छे हुँ’, उनले भने ।



धनुषा–३ (ख) मा बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगार र खानेपानी आवश्यकता पूर्ति गर्ने मुद्दा नै आफ्नो मूल एजेन्डा भएको साहले बताए ।

राजनीतिमा आफ्नो सक्रियता निजी स्वार्थपूर्तिका लागि नभई समाजसेवाका खातिर भएको उनले बताए । ‘राजनीतिलाई पेसा बनाउनुहुँदैन, राजनीति भनेको समाज सेवा हो । यही सोचका साथ सबै जुट्ने हो भने हाम्रो सुन्दर देश माथि उठ्न धेरै समय लाग्दैन’, उनले भने ।



‘अहिलेको संकटबाट प्रदेशलाई पार लगाउने विषय पनि शिक्षा, स्वास्थ्य र रोजगारीको एजेन्डामै निहित छ । यी एजेन्डाको समुचित सम्बोधन हुन सक्यो भने यो प्रदेश पनि संकटबाट माथि आउँछ’, साहले भने ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार २०:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया