राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन् । भद्रपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।’
राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उनले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आ–आफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए ।
‘कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै,’ झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, ‘हामी आ–आफ्नो विचार र आस्था लिएर अघि बढेका छौँ, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन ।’
झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उनको भनाइ छ । मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उनले बताए ।
०७४ को निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उनको दाबी छ ।
झापा ३ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला चुनावी मैदानमा छन् । उनले राजतन्त्रवादी पार्टीलाई मत दिएर प्रतिगमनलाई सहयोग नगर्न भन्दै मत मागिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।