शनिबार रातिको भूकम्पका कारण बझाङमा दर्जनौं घरमा क्षति

गएराति गएको भूकम्पले बझाङमा भौतिक संरचनामा क्षति पुर्याएको छ । गएराति ८ बजेर १२ मिनेटमा बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रविन्दु बनाएर ५ दशमलव  ४ रेक्टरस्केलको भूकम्प जाँदा भौतिक संरचनामा क्षति पुर्याएको हो ।

भूकम्पपछि अधिकांश मानिसहरू सुरक्षित स्थानका लागि घरबाहिर निस्किएका थिए । रातभर नै भूकम्प आउनसक्ने डरले घरबाहिर नै पालमुनि बसेर रात काटेको खप्तड छान्ना गाउँपालिका–६ का स्थानीय नरेश खड्काले बताए । 

शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको वडा प्रहरी कार्यालयको भवन भत्किएको छ । पुरानो भवन रहेका कारण उक्त भवनमा बस्न नमिल्ले गरी क्षति पुगेको छ । खप्तडछान्ना गाउँपालिका–४ का ईश्वरप्रसाद जोशीको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ ।

खप्तडछान्ना गाउँपालिकामा गएराति गएको भूकम्पका कारण ५० सयभन्दा बढी घरहरू चर्किएका स्थानीय शैलेन्द्र रोकायाले बताए । तथापि जिल्ला विपद् व्यवस्थापन समितिले भने हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली भने परिचालन गरिएको छ ।

त्यस्तै, जयपृथ्वी नगरपालिका, थलारा, दुर्गाथली, मष्टा गाउँपालिकालगायतका स्थानीय तहमा रहेका पुराना घरमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् ।

भूकम्पको त्रासले रातभर जाग्राम बस्नु परेको स्थानीय नरेन्द्र उपाध्यायले बताए । गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । 



साथै, केही मानिस घाइते भएका थिए । उक्त भूकम्पबाट बझाङमा १ सय ५० बढी घर चर्किएका थिए । त्यस्तै, दुई दर्जनभन्दा बढी घर बस्न नमिल्ने गरी क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । 

बझाङमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गरिएको छ ।   



  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ८:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया