विश्व मधुमेह दिवस: युवाहरूमा मधुमेहको समस्या बढ्दै

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक र्‍याली गरी विश्व मधुमेह दिवस मनाइएको हो । अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्‍याली गरेको थियो । 

साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ । शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए । उनले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरूको लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरूको चाप रहेको बताए । शिविर आज बिहान ९ बजेबाट सुरु भई दिउँसो ३ बजेसम्म चल्ने बताए ।

‘आज हामीले बिहान मधुमेह रोग सम्बन्धी सचेतनामूलक र्‍याली कार्यक्रम गर्‍यौँ । अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ । आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने, ‘आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट सुरु भई ३ बजेसम्मका लागि हो । लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ । उत्साहजनक रूपमा बिरामीको सहभागिता भइरहेको छ ।’ 

त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरूमा आँखाको समस्या हुने गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरे । उनले पछिल्लो समय तीव्र रूपमा मधुमेहका बिरामीहरूको संख्या बढिरहेकाले त्यसतर्फ सबै जनाले सतर्कता अपनाउन जरुरी रहेको बताए । उनले  अहिले विश्व भरी ५३ करोड भन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताए । 

उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताए । अहिले ३० वर्ष भन्दा माथिका मानिसहरूमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ । खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरूमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए । मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताए । उनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाब लाग्ने,तौल कम हुने लगायतका समस्या हुने पनि बताए ।

 
‘मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाब लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन । ५० प्रतिशत मानिसहरूमा हुँदैन त्यस्तो लक्षणहरू । ३० वर्ष उमेर कट्नेहरूले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ । सुगर हुने बढी जोखिम हुन्छ,’ उनले भने, ‘जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह,कोलस्टोर,सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६/६ महिनामा जाँच गर्नुपर्छ । सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्नुहुन्छ । तर आँखाको पर्दामा असर गर्ने भएकाले सुरुमा कुनै लक्षण हुँदैन । मधुमेह भएका बिरामीहरूले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ । औषधिहरू समयमा नै खानुपर्छ ।’



उनले मधुमेहका बिरामीहरूले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउन र औषधिहरू समयमा नै खान सुझाव दिए । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १५:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया