मकवानपुर १ मा सिंहलाई जिताउन अध्यक्ष लिङ्देनको दौडधूप

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरुको सक्रियता बढिरहेको छ । उनीहरु कसरी मत आफ्नो पक्षमा ल्याउने भन्ने गृहकार्यमा तल्लीन छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नै पार्टीका सांसद चुनेर सदनमा लैजान राजनीतिक दलका शीर्ष नेताहरु लागिपरेका छन् । सोहीअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पाँच दिनको बीचमै दुईपटक मकवानपुरको चुनावीसभालाई सम्बोधन गर्न कुदिरहेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत हुन् । अहिले उनलाई आफ्नो मतदातासँगको भेटघाट गर्ने चटारो छ । आफ्नो जित सुनिश्चित गर्न मतदाता सामु पुग्नुपर्ने समयलाई व्यवस्थापन गर्दै लिङ्देन मकवानपुर केन्द्रित भइरहेका छन् । गत बिहीबार मात्रै मकवानपुरको बकैया गाउँपालिकाको बृहत् आमसभालाई सम्बोधन गर्न आइपुगेका उनी हेलिकोप्टर चार्डर गरेर सोमबार राप्रपा मकवानपुरले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्न आइपुगे । पाँच दिनको बीचमा दुईपटक सम्म एउटै जिल्लाको एउटै निर्वाचन क्षेत्रमा लिङ्देन धाइरहनुको कारण चाखलाग्दो छ । 

राप्रपा तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंहलाई जिताएर प्रतिनिधि सांसद बनाउने ध्येय पूरा गर्न लिङ्देन जोड बलले लागिरहेका छन् । बिहीबारको सभालाई सम्बोधन गर्ने क्रममा राप्रपाबाटै मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार र अन्य प्रदेशका उम्मेदवारको नाम पनि नलिई उनले एकलयले सिंहको मात्रै नाम लिएर जिताउनको लागि आग्रह गरिरहे । 

यता, सिंह जसरी पनि जित हासिल गरेर संघीय सांसद बन्ने कसर बाँकी राखेका छैनन् । स्थानीय तहको निर्वाचनमा धेरै पाठ सिकिसकेका सिंहलाई मंसिर ४ को निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र नेकपा एमालेसँगको सहकार्यमा सूर्य चिह्नको साझा उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा मुख्य प्रतिस्पर्धामा छन् । थापा र उपाध्यायलाई दोस्रो र तेस्रो बनाएर आफू पहिलो हुने सपना पूरा गर्न उनी तल्लिन छन् । नष्ट हुने, तर भ्रष्ट्र नहुने अठोट लिएका सिंहले मकवानपुरे जनताले महिना महिनामा पार्टी फेर्नेलाई नभएर चट्टानसरी बसेकोलाई मत दिन भन्दै आग्रह गरे । 
 
उनले भने,‘ मेरो अध्यक्ष लिङ्देनले कांग्रेसका शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भएको हेरिसक्नु भयो । ओलीजी फेरी प्रधानमन्त्री हुन्छु भन्न थालिसक्नुभएको छ । किड्नी पनि चारवटा छ । अस्पतालमा महिनौँ बस्नुहुन्छ । उहाँहरुले आफूजस्तै देशलाई बिरामी बनाइसक्नु भयो । त्यसकारण मेरो अध्यक्षलाई देशको प्रधानमन्त्री बनाऔँ । भोट परिवर्तन गरौँ । बहुमत पुर्याउनका लागि सबैले हलो चिह्नमै मतदान गरौँ ।’ 

यता, कलाकारिताबाट राजनीतिक यात्रामा लागेकी मनीषा कोइराला राप्रपालाई भोट माग्न सोमबार हेटौंडा आइपुगिन् । राप्रपा अध्यक्ष लिङ्देनले भष्ट्राचार नगर्ने प्रतिबद्धताको कारण आफू पनि राप्रपाप्रति आकर्षित भएको उनले बताइन् । हेटौँडा आएर कोइरालाले पनि मकवानपुरका जनतासँग हलो चिह्नमा नै मत दिएर भष्ट्राचार मुक्त सरकार निर्माण गर्न आवश्यक रहेको बताइन् । उनले राजतन्त्र र बहुदलीय व्यवस्था ल्याउनको लागि राप्रपालाई भोट दिन आग्रह गर्दै उनले आफूलाई दिएको माया भोटमार्फत दिन अपिल गरिन् । उनले राजेन्द्र लिङ्देनको भाषणमा भष्ट्राचार गर्नु आमाको रगत खानुबराबर हो भन्ने शब्दले आफूलाई राप्रपामा तानेको बताइन् । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका सिंहले राम्रो मत पाएका थिए । सोही मतलाई आधार मानेर जसरी पनि मकवानपुर क्षेत्र नम्बर १ बाट दीपक सिंहलाई सदनमा लैजाने लिङ्देन प्रयास गरिरहेका छन् । 



सदनमा पुग्ने बलियो सम्भावना रहेका सिंहलाई मत माग्न सिंहको गृहजिल्ला धाउँदैमा अध्यक्ष लिङ्देनलाई भ्याइनभ्याई बढिरहेको हो । सोमबार हेटौंडा १३ पदमपोखरीमा आयोजना गरिएको विशाल आमसभालाई सम्बोधन गर्दै उनले सिंहलाई जसरी पनि जिताइदिन आग्रह गरे । पार्टी नबदले पनि एकपटकको लागि भोट बदल्नुपर्ने बेला आएको भन्दै हलोमा भोट दिएर सिंहलाई जिताएर आफूलाई साथी पठाइदिन आग्रह गरे ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार २२:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया