‘स्थिर समय’ मा प्रचारप्रसार गरेको पाए कारबाही हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।  

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो । निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए ।

उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए । आयुक्त भण्डारीले मंसिरको १ को राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए ।

‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमहरू गर्न पाइँदैन । सम्पूर्ण कार्यक्रम निषेध गर्दछ । विगतमा हाम्रो अभ्यासलाई हेर्दा यसलाई मौन अवधि भनेर सम्बोधन गरेको रहेछ । बीचमा हामीले कहाँ छ मौन अवधि भनेर हेर्दा कतै पनि भेटेनौँ । त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौँ,’ आयुक्त भण्डारीले भने, ‘केही ठाउँमा यो भन्दाअघि शून्य समय भन्यौँ । ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुन्छ । मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ ।’ 

उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए ।  

‘कुनै पनि प्रकारको प्रचारप्रसार सम्बन्धी वा यसलाई मत देउ, यसलाई नदेउ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देउ, नदेउ भन्न पाइँदैन । यदि कसैले प्रचारप्रसार गर्‍यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ । कडा नै सजाय मान्छ,’ भण्डारीले भने ।



प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न ४ मंसिरमा एकै चरणमा हुँदैछ । आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ ।  



  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १०:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया