निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरू मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानुनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिए ।
आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देश गरिएको छ । त्यस्तै, मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
‘मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ । मतदान कार्यमा संलग्न हुने मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कार्यमा खटिने कर्मचारीले यो निर्देशनलाई गम्भीरतापूर्वक बुझि तदनुसार पालना गर्नको निम्ति म निर्देश गर्दछु । मतदान केन्द्रमा मतदान अधिकृतले निषेधित गरेका र कानुनद्वारा निषेधित अन्य वस्तुहरू मतदान केन्द्रमा लान नमिल्ने भएको हुँदा सुरुमा सर्वपक्षीय बैठक राखि यस्ता वस्तुहरू नलिई आउनका लागि सबै मतदातालाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रबन्ध मिलाउनु पर्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।