पम्फा भुसाललाई प्रश्न - माओवादीमा पुस्तान्तरण किन हुन सकेन ? [अन्तर्वार्ता]
फाइल तस्बिर

यति बेला निर्वाचनको अन्तिम तयारीमा सरकार उम्मेदवार, मतदाता, निर्वाचन आयोग सबै जुटिरहेका छन् । राजनैतिक दलहरू मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । निर्वाचनको दिन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन् । यसैबिच ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालसँग गरिएको कुराकानी ।

चुनाव आउनै लागेको यो अन्तिम घडीमा पार्टीले प्रचारप्रसारको काम कसरी गरिरहेको छ ? तपाई आफूले कसरी प्रचारप्रसारको काम गरिरहनु भएको छ ?
निर्वाचन अलि बढी उम्मेदवार केन्द्रित भएर हुन्छ । मैले बुझ्न त अन्त पनि बुझेको छु । साथीहरू सबैतिर प्रचारप्रसारको अन्तिम चरणमा पुग्नुभएको छ जनताको घरदैलो । आफ्नो एजेण्डाहरु जनतालाई स्पष्ट पार्ने । आफ्नो ठाउँका विकास निर्माणका प्रस्तावहरू राख्ने र जनताको अभिमत लिने कुरामा देशभर लाग्नुभएको छ । म यति बेला म आफूचाहिँ आफ्नै क्षेत्रमा केन्द्रित छु । धेरैतिर मैले ध्यान दिन सकिन । १५ दिनको प्रचारप्रसारको समय छ निर्वाचन आयोगले दिएको । १४ दिन सकियो । त्यसैले म आफ्नोमा बढी केन्द्रित छु । 

ठूलो क्षेत्र समय कम हुँदो रहेछ । अहिले निर्वाचन आयोगले सीमित गराइदिएको छ आचारसंहिता लागू गरेर । अधिकांश जनताको घरदैलो पुगेका छौँ । भेला, बैठकहरू, टोल सुधारका महिला समूहका, युवा क्लबहरूका छलफल, बैठक, अन्तरक्रिया उहाँहरूको आवश्यकता, समस्या सुन्ने कुरा पनि गरेका छौँ । मूल प्रचारको पाटो भनेको घरदैलो हो । मैले २० वटा वडा सकेँ । भोलि निर्वाचन प्रचारप्रसारको अन्तिम दिन दुई वटा वडा सकिन्छ । अर्को हामीले घोषणापत्र बनाएको छ । जनतालाई त्यो पनि दिन्छौँ । त्यसपछि सामान्य आफ्नो सामाजिक नेटवर्क चलाउने । यत्ति हो प्रचारको । 

गठबन्धन बनाएर निर्वाचनमा जानुभएको छ, माओवादीले खास गरी कांग्रेसलाई लगाउने गरेको आरोप छ की, आफूले माओवादीको भोट लिएर माओवादीलाई चाहिँ भोट हालेन, के यस पटक नेपाली कांग्रेसको सबै मत माओवादीलाई आउने अवस्था छ ?
हाम्रो आउने अपेक्षा छ । किनकि यो समयको आवश्यकताले, देशको आवश्यकताले, जनताको आवश्यकताले बनेको गठबन्धन हो । प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तिलाई पराजित गर्नका निम्ति बनेको यो गठबन्धन हो । 

त्यसैले गठबन्धनको औचित्यता, आवश्यकता, त्यसको मर्मलाई सबै पार्टीले बुझ्नुभएको छ । नेपाली कांग्रेसका साथीहरूले पनि बुझ्नुभएको छ । त्यसैले सक्रिय ढंगले लाग्नुभएको छ । मेरो क्षेत्रको अनुभव गर्दा खेरी सबै गठबन्धनको पक्षमा कुनै न कुनै ढंगले खडा हुनुभएको छ ।

गठबन्धनका कारण मत हाल्न अप्ठ्यारो हुने हो कि भन्ने अवस्था छ, प्रत्यक्षमा तपाईहरुको उम्मेदवार नभएको ठाउँमा समानुपातिकमा पनि तपाईँहरूलाई मत आउन सक्छ त ? मतदाता शिक्षा के–कसरी अगाडी बढाइरहनुभएको छ ?
 हाम्रो समानुपातिकबाट उठेका उम्मेदवारहरू पनि घरदैलोमा जानुभएको छ । उम्मेदवार अथवा टिम नै बनाएर खटाउने भन्ने पार्टीको नीति हो । मेरो क्षेत्रमा चाहिँ उम्मेदवार नै हुनुहुन्छ । प्रदेश र संघकै लागि पनि । त्यस कारणले उहाँहरू पनि कहिले हामीसँग सँगै र कहिले छुट्टै प्रकारले घरदैलोमा पनि हुनुहुन्छ । 



पार्टीले बुझाउन सक्नुपर्‍यो प्रत्यक्ष गठबन्धनलाई, समानुपातिक चाहिँ आफ्नो पार्टीलाई भनेर माग्ने कार्यकर्ताको, समानुपातिकका उम्मेदवारहरूको हातमा बढी भर पर्ने कुरा हो ।  

सहरी इलाकामा समग्र पार्टीहरूप्रति वितृष्णा बढेको गत स्थानीय तह निर्वाचनले पनि स्पष्ट देखायो, अहिलेको निर्वाचनमा पनि साना पार्टीहरू र स्वतन्त्र उम्मेदवारहरूको धेरै उम्मेदवारी परेको छ, यसलाई कसरी लिनुभएको छ ?
उठ्न पाइयो । हामीले र हाम्रा अग्रजहरूले थालेको, हाम्रो जीवनकालमा हामीले सम्पन्न गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जसले पनि मैदानमा हिँड्न, डुल्न, खेल्न पाउने कुरा भयो । त्यही अन्तर्गत संविधानले दिएको छ । कानुनले दिएको छ । कोही पनि उठ्न सक्नुहुन्छ । तर हाम्रो देशको राजनीति चाहिँ दलीय प्रणाली हो । 



राजनीतिक दलका प्रतिनिधि जनतामा जाने र अनुमोदित भएर आउने । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । १३८ सिट ल्याउनेले मात्रै सरकार बनाउन सक्छ । १३८ भन्दा बढी ल्याएकाले पनि मन्त्री बनाउने २५ जना हो । त्यसैले रहर गरेर जो पनि उठ्न सक्छ । निर्णायक चाहिँ कहिल्यै पनि हुन्न स्वतन्त्र ।  

त्यसो भए दलहरूका लागि स्वतन्त्र उम्मेदवार चुनौती होइनन् ?
कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहिँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । 

जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाई सम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् ।

तपाईँको निर्वाचन क्षेत्रको कुरा गर्ने हो भने पनि तपाईँसहित १३ जना विभिन्न पार्टीका उम्मेदवार हुनुहुन्छ, ७ जना त स्वतन्त्र उम्मेदवार छन्, युवाहरू धेरै छन्, तपाईँलाई नै मत किन दिने ?
मेरो दुई कार्यकाल हेरेर उहाँहरूले दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्न सक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरूको कुनै सकारात्मक भूमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । 

अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन । मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरूको क्षेत्र हो । कति सचेत हो भने ०४५/०४६ को आन्दोलन हुँदै हुँदा पाटनबासि तिनै जनता हुन् जसले पाटनलाई पञ्चायतमुक्त जिल्ला घोषणा गरिसकेका थिए । ०६२/०६३ को आन्दोलन थियो ।

राजनीतिक दलहरूले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो । उहाँहरूले राजनीतिक परिवर्तनमा खेलेको व्यक्तिको भूमिका पनि हेर्नुहुन्छ । अनि उहाँहरूको मतले सरकार बन्ने र सरकार बन्दा खेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्य योजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ । त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन ।  

तपाईँलाई साना दल वा स्वतन्त्र कसैको पनि चुनौती छैन ?
 छैन । मेरो प्रतिस्पर्धा दलसित नै हो फेरि । 

नयाँ पुस्ताहरू आक्रामक रूपमा राजनीतिमा आइरहेको बेलामा माओवादीमा पुस्तान्तरण किन हुन सकेन ?
पम्फा भुसाल होइन । हाम्रोमा युवा पनि हुनुहुन्छ । मध्यम खालका नेताहरू पनि हुनुहुन्छ । पहिलो तहका नेताहरू पनि हुनुहुन्छ । त्यो त कस्तो हो भने राजनीतिमा आउने भनेको उमेर पनि हो, एकदम युवाहरू आउनुपर्छ । 

तर एउटा भिजन, एउटा विचार, एउटा चिन्तनसहित आउनुपर्छ । समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्‍यो । हाम्रो पार्टीमा कोही वडा सदस्य, वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश र संघ हुँदै अनुभव हासिल गरेर परिपक्व भएका साथीहरू हुनुहुन्छ । युवाहरू पनि हुनुहुन्छ । मध्यम खालको पनि हुनुहुन्छ । 

अलि बुढापाका मान्छेहरू पनि हुनुहुन्छ । मलाई लाग्छ, कुनै समाज, दल, राज्य भनेको यो तिनै पुस्ताहरूको समन्वय र सहकार्यबाट अगाडी बढ्छ । युवाहरूको जोस हुन्छ । अलि पुरानाहरूको चाहिँ अनुभव हुन्छ । अनुभव र जोसको सही समायोजन गर्दा कुनै पनि चिजले चाहे राजनीति होस्, चाहे अर्थनीति होस्, सबै कुराले गति लिन्छ ।  

  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १६:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया