प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर जलविद्युत आयोजना बनाउनको लागि भारतसँग कुरा भइरहेको दाबी गरेका छन् । बैतडीको शिवनाथ गाउँपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले पञ्चेश्वरका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको बताएका हुन् ।
‘पञ्चेश्वर जलविद्युत आयोजना निर्माणको लागि भारत सरकार र अहिलेका प्रधानमन्त्री मोदीज्यूसँग कुरा भएको छ । उहाँले पञ्चेश्वरलाई अगाडि बढाउनुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘पञ्चेश्वर अगाडि बढेको खण्डमा यस ठाउँको कायापलट हुने नै छ ।’
उनले पञ्चेश्वर निर्माणसँगै सो क्षेत्रमा आवश्यक रहेको पुलको काम पनि अगाडि बढ्ने आश्वासन दिए । उनले भने, ‘पञ्चेश्वर आउन धेरै वर्ष लाग्न सक्छ । त्यसअघि यहाँ पुल चाहिएको छ । यसलाई हामी अवश्य नै अगाडि बढाउने नै छौँ ।’
उनले नेपाल जलस्राेतमा धनी देश भएकाले नेपालले बिजुली मात्र नभएर पानी बिक्री गरेर पनि आम्दानी गर्न सक्ने बताए । ‘पञ्चेश्वर अवश्य पनि ल्याइनेछ । नेपाल आफैँमा जनस्राेतको धनी देश हो,’ उनले भने, ‘नेपाल विद्युत् मात्रै नभएर पानी पनि बेच्न सक्छ । जसबाट हाम्रो देश धनी बन्न सक्छ ।’
उनले गठबन्धन १०-१५ वर्ष अगाडि बढेमा देशको विकास तीव्र गतिमा हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।