निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकेको बताएको हो । 

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए ।

त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उनले उल्लेख गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने उनले जानकारी दिए । 

मतदान केन्द्रमा असर पुर्याउने खालका कुनै पनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षकलगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरेमा कानुनी कारबाही गर्न निर्देशन दिएको बताए ।

आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ । १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । यस्तै, १४१ अस्थायी मतदान केन्द्र रहेको र ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने उनले बताए ।

थपलियाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । त्यस्तै, प्रदेशसभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।



थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छपाइ गरी ढुवानी गरिएको बताए । त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिएको उल्लेख गरे ।

निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएको र पर्यवेक्षकले प्रतिनिधिसभा र प्रदेशसभाका  सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने बताए । आयोगले करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको जानकारी दिए ।



प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका बताए । मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको उनले बताए ।

  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १६:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया