कांग्रेसले ७० सिट जित्ने लगभग निश्चित छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मंसिर ४ को निर्वाचनपश्चात् देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । 

पाँचदलीय गठबन्धनले चुनाव प्रचार–प्रसारको अन्तिम दिन बिहीबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वउपसभापति निधिले यस्तो दाबी गरेका हुन् । 
निधिले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको दाबीसमेत गरेका छन् । 

उनले गठबन्धनकै सहमतिअनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा चुनाव लडेको र त्यसमा आफूहरू ७० वटा सिट जित्ने लगभग निश्चित रहेको दाबी गरे । त्यस्तै, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चालगायतका दल पनि राम्रो संख्यामा जित्ने अहिलेसम्मको अनुमान रहेको उनले बताए ।

नेता निधिले धनुषा–३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ साइकल छापमा र बाँकीमा रूख चिह्नमा मत दिन मतादातासँग आग्रहसमेत गरे।उनले भने, ‘मैले कांग्रेसलाई समर्थन गर्ने आफ्ना क्षेत्रका मतदाताहरूसँग अनिल झाको चुनाव चिह्न साइकल छापमा मतदान गर्न आग्रह गरिसकेको छु । त्यसैले यहाँ उनको जित सुनिश्चित छ ।’

‘अनिलजी जुनसुकै पार्टीमा भए पनि उहाँसँग पहिलेदेखि नै मेरो अत्यन्त मैत्रीपूर्ण सम्बन्ध छ । संघर्षको बेलामा, संविधान लेख्ने बेलामा, धेरै मुद्दाहरू लोकतन्त्र, संघीयता र मधेसका मुद्दाहरूमा हामी दुई जनाको धेरै कुरा मिल्छ । त्यसैले अनिलजीको यहाँ जो प्रवेश भएको छ, मेरो सहमतिमा हो । मेरो पार्टीका सारा साथीहरूलाई मैले यहाँ अनुरोध गरेको छु अनिल झाजीलाई साइकल छापलाई विजयी गराउन ।’

उनले भने, ‘धनुषा–३ मा गठबन्धनका उम्मेदवारहरू जित्नेमा कुनै दुईमत छैन । अनिल झा पनि जित्नुहुन्छ, रामसरोज यादवजी पनि जित्नुहुन्छ, परमेश्वर साहजी पनि जित्नुहुन्छ । हाम्रा सबै उम्मेदवारको जित पक्का छ ।’



नेता निधिले यस क्षेत्रमा प्रतिपक्षीहरू पनि अनिल झाप्रति इमान्दार हुने विश्वास व्यक्त गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १८:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया