गण्डकीको मुख्यमन्त्रीमा खगराजको बलियो सम्भावना

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री खगराज अधिकारी अहिले कास्की कास्की–१ ‘क’को प्रदेश सभामा उम्मेदवार छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राम्रै निकटता भएका अधिकारी किन प्रदेशमा उम्मेदवार बने भन्नेमा धेरैले अचम्म माने । छोटो समयका लागि भए पनि गृहमन्त्री भइसकेका व्यक्ति पार्टीले निर्वाचनमा राम्रो नतिजा ल्याएको खण्डमा पुनः केन्द्र सरकारको राम्रै मन्त्री बन्ने सम्भावना भए पनि उनी प्रदेशमा निर्वाच्न लडेका छन् । 

एमालेले अधिकारीलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । त्यसो त गण्डकीको मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि रुचि देखाएका थिए । तर, पार्टीले उनलाई लमजुङबाट प्रतिनिधिसभामा उम्मेदवार बनाइसकेको छ । गण्डकी प्रदेशमा एमालेको चुनावी नतिजा राम्रो आएको खण्डमा खगराजलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ । 

गण्डकीमा लामो समयदेखि अधिकारी र उपमहासचिव​ गुरुङबीच गुटगत लडाइ चल्दै आएको थियो । दुईबीच ०७४ सालको स्थानीय तहको निर्वाचनदेखिनै शक्ति संघर्ष चल्दै आएको हो। त्यसको असर गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि देखियो । 

पछिल्लो अवस्थामा गुरुङ र अधिकारीको सम्बन्धमा सुधार आएको बताइन्छ । पार्टीको निर्देशनअनुसार नै अधिकारी प्रदेश सभामा र गुरुङ प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । 

तुलनात्मक रुपमा गण्डकी प्रदेश एमालेको बलियो प्रदेश मानिन्छ । तर, माओवादी, कांग्रेस, जनमोर्चालगायत दलले गठबन्धन बनाएर अघि बढेका कारण एमालेका सोचेजस्तो सहज नहुन सक्छ । त्यसैले एमाले नेताहरुलाई आन्तरिक विवादलाई थाती राखेर विपक्षीविरुद्ध एकजुट भएर अघि बढ्नुको विकल्प छैन । 

त्यसमा गुरुङ र अधिकारी दुवैजना सचेत देखिन्छन् । अधिकारीलाई गण्डकीको मुख्यमन्त्री र गुरुङलाई केन्द्र सरकारमा सहभागी गराउने गरी एमाले अध्यक्ष ओलीले दुई नेताबीचको मतभेद अन्त्य गराएको एमालेवृत्तमा  चर्चा छ ।  
 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार २१:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया