आजदेखि विश्वकप फुटबल, यसरी हुँदैछ उद्घाटन

२२ औं संस्करणको फिफा विश्वकप फुटबल आजबाट कतारमा सुरु हुँदैछ । कतारमा पहिलोपटक विश्वकप सुरु हुन लागेको हो ।

हालसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा खेलिएका थिए । तर, कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटक भने विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना गरिएको हो ।

विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडर प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकपको उद्घाटन  साँझ ७ः४५ बजे दोहाबाट ४० किलोमिटर टाढा रहेको अल–बैत रंगशालामा हुनेछ ।

उद्घाटन समारोहमा दक्षिण कोरियाली ब्यान्ड बिटिएस मुख्य आकर्षण रहेको छ । बिटिएस सदस्य जंककूक पहिलोपटक विश्वकपको उदघाटन समारोहमा प्रस्तुती दिने छन् । त्यस्तै, बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिने कार्यक्रम छ ।  

साथै, उद्घाटन समहारोहमा अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियाली गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्‍यापर लिल बेबीको प्रस्तुति रहनेछ ।  

एक महिना चल्ने विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । आयोजकको हिसाबले कतारले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएको हो ।  



विश्वकप फुटबलले २१औँ संस्करण सकिँदा ८ देशले उपाधि जितेका छन् । दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप फुटबल भने हुन सकेन । हालसम्म विश्वकप फुटबलमा सर्वाधिक टोली ब्राजिल हो । उसले सर्वाधिक पाँचपटक उपाधि हात पारेको छ ।  

ब्राजिलले सन् १९५८, सन् १९६२, १९७०, १९९४ र २००२ को उपाधि जितेको थियो । साथै, ऊ २२औँ संस्करणसम्म सबै विश्वकप खेल्ने एक्लो टोली पनि हो ।



ब्राजिलपछि जर्मनी र इटालीले चार/चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई/दुई तथा इंग्ल्याण्ड र स्पेनले एक/एकपटक उपाधि हात पारेका छन् । २२ औं संस्करणको फिफा विश्वकप नेपालमा हिमालय एचडीबाट हेर्न सकिनेछ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया