समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य रहेको नेता नेपालको भनाइ

बर्दिवास– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताएका छन् ।  

महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न आधारशीला (पहिलेको नेकपा चौथो महाधिवेशनमा आबद्ध नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन)को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा वरिष्ठ नेता नेपालले कृषि क्रान्तिको औचित्य बताए । 

उनले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको समृद्धि अभियानको नेतृत्व गर्नसक्ने बताए । ‘सम्भावनाको धेरै क्षेत्रबाट खोजी गर्न सकिन्छ,’ उनले भने, ‘कृषिबाट खोज्ने समृद्धि वैज्ञानिक र व्यावहारिक हुन्छ ।’ 

किसानले समयमा बिउ र मल पाउने, उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको ग्यारेन्टी र पछिल्ला प्रविधिमा किसानको पहुँच नभएसम्म समृद्धि अभियानले गति लिन नसक्ने नेता नेपालको भनाइ थियो । उनले दक्ष जनशक्ति बढाएर मुलुकभित्रै आफ्नो सीप र दक्षता उपयोग गर्नसक्ने अवसर पछिल्लो पुस्ताले पाउन सके मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउन सक्ने बताए । 

समारोहमा आधारशीलाका संस्थापकमध्येकै नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘सबैका लागि शिक्षाको अवसर’का लागि वर्तमान सरकार लागि परेको बताए । 

आधारशीला २०५९ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन)मा आबद्ध १५ परिवारका नेता तथा कार्यकर्ताले स्थापना गरेको कम्युन हो । 





  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार २०:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया