तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन ।

मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । लामा भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन ।’

एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । ‘सुरुका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्मे स्याउ फलेको छ । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ’, लामाले विकटको समस्या सुनाए ।  

हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए ।  

लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाउनुभएको छ । समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो ४ सय रुपैयाँको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा १ सय ५० मा दिइरहेका छन् । १ सय ५० रुपैयाँ किलोले नै हिसाब गर्ने हो भने पनि रु नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ । 



कानुन विषय पढ्नुभएका लामा अहिले पनि एउटा गैरसरकारी संस्थामा जागिर गर्छन् । आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखेको र अहिले त्यसैगरी स्याउ फलाउने रहरले लामाले दिदी प्रविना माया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाएका हुन् । माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ ।

‘हामी सानो छँदा घरमा दुई बोट थियो । धेरै फल्थ्यो । गाउँभरिका मान्छेलाई खान पुग्थ्यो । मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखेँ । जागिरको सिलसिलामा ठाउँ–ठाउँमा पुग्दा पनि स्याउ फलेको देखेँ । जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाहअनुसार मुस्ताङको मार्फाबाट रु एक सय २० का दरले बिरुवा ल्याएर लगाएँ’, लामा भन्छन्, ‘आमा र दिदीले नियमित हेरचाह गर्नुहुन्छ, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन/चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौँ ।’



फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति २ सय रुपैयाँमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उनको माग छ ।

स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दूरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशूली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ । रासस 

  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार ११:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया