सार्वजनिक संस्थालाई जतिसक्दो चाँडो अपाङ्गमैत्री बनाउन माग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्यालले अस्पताल, अदालत, प्रमुख सरकारी भवनहरू, विद्यालय, प्रहरी चौकीलगायतका महत्त्वपूर्ण सरकारी संरचना जतिसक्दो चाँडो अपाङ्गमैत्री बनाउन सरकारसँग माग गरेकी छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव’लाई समर्थन गर्दै पौड्यालले अपाङ्गता भएका व्यक्तिले दिनदिनै सरकारी तथा अन्य सेवा लिन भौतिक संरचनाको कारण पनि दुःख पाएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताइन् । 

अपाङ्गता भएका व्यक्तिका लागि संविधानमा मौलिक हकको व्यवस्था नै गरे पनि अपाङ्गता भएकै कारण उनीहरूले अझै आफ्ना हकको प्रयोग गर्न नसकेको भन्दै उनले जतिसक्दो चाँडो अस्पताल, प्रहरी चौकी, अदालत तथा धेरै सेवा लिन जानु पर्ने सरकारी भवनहरू अपाङ्गतामैत्री बनाउनुपर्ने बताइन् । 

उनले भनिन्, ‘हाम्रो संविधानले मौलिक हक भनेर सबैका लागि बनाएको हो । तर, शिक्षा, स्वास्थ्य, न्याय र रोजगारी जस्ता ३२ वटा ती मौलिक हकहरूमा धेरै हक अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै कारणले प्रयोग गर्न सकिराखेका छैनन् । त्यसैले सबैभन्दा पहिला सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी छ । ’

एक जना बोल्न नसक्ने महिला प्रेग्नेन्ट भएर अस्पताल देखाउन जाँदा पखालाको औषधी दिएर पठाएको अनुभव सुनाउँदै पौड्यालले भौतिक संरचना मात्र नभएर जनशक्तिको पनि व्यवस्था गर्नुपर्ने भन्दै थपिन, ‘शिक्षा,स्वास्थ्य, अदालत, प्रहरी चौकी यस्ता अति नै महत्त्वपूर्ण सार्वजनिक निकायलाई चाँडो भन्दा चाँडो अडिट गरेर त्यसलाई अपाङ्गतामैत्री बनाउन जरुरी छ ।’

उनले आफ्नो घरमा बस्न सक्ने अवस्था नभएका अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा जरुरी भएको समेत बताइन् । 





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १४:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया