धादिङमा सवारी दुर्घटना हुँदा १८ जना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा  १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल  काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र  उनकी श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको जैसवारले जानकारी दिए ।  

बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका हुन् । त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् । 

थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई  र बसमा सवार तीन जनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथो हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा४ख ४१७७ नंको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको  कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए । त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए  । 





  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार १७:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया