चिसो बढेपछि बेँसी सारिँदै चौँरी गोठ

हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । 

मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले ३ हजार ६ सय मिटर उचाइको लेकबाट पशु झार्न थालिएको बताए । 

हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको उनले बताए । मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दै आएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए ।

व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए ।  

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । उनले भने, ‘पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर पाल्ने क्रम कम भएको छ ।  चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।’

अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले  सुनाए । ‘केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौं । कहिले त कति बेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ,’ उनले भने । राहतको ५–१० हजार रुपैयाँ लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा २५ देखि ३० हजार रुपैयाँ खर्च हुने गरेको उनको गुनासो छ ।  



‘पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो,’ गुरुङले भने । मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ । 



गत असारदेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । 

कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौँरीको गोठ राखिने छन् । रासस 

  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १२:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया