मनाङमा भारी हिमपात, किसान खुसी

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात हुँदा किसानमा खुसी छाएको छ । 

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौं गएपनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए । ‘परिवारका अरू सदस्य काठमाडौं गए । हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म,’ उनले भने ।  

त्यसैगरी, मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएका बताए । उनले भने, ‘अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतिपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ । हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घरबाहिर निस्कनै मुस्किल भएको छ ।’

किसान गुरुङका अनुसार चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतिपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयवासीमा खेतिपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरू खुसी भएका हुन् । 

यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ । 



प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए । उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे ।

सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ । हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।



  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १४:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया