जलवायु परिवर्तनको असर - पग्लियो हिउँ, सुके ताल

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनी भन्छन्, ‘विगतमा मानिस र जंगलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।’

उनी थप्छन्, ‘हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो । अहिले बगर बनेको छ । ताल नै छैन । त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन । आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो ।’

पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङले बताए । उनले भने, ‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ । समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ । समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन् । हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ ।’ 

उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको छ । उनी भन्छन्, ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै ! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ ।’

जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताए । उनले भने, ‘पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ । अहिले लार्के पिक हराएको छ ।’

‘मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ । तर त्यो लार्के पिक अहिले छैन’, गुरुङले भने, ‘२०४३ सालसम्म लार्के पिक थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन । यस्ता विषयलाई सरकारले गम्भीर रुपमा लिन सक्नुपर्ने हो ।’ 



पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो । “हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ’, गुरुङ भन्छन्, ‘उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा विपद खेप्नुपरेको छ । तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौँ ।’

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउँछन् । अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो । हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन् । यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ ?’ नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन्, ‘ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो । आजभोलि आरीघोप्टे पानी पो पर्छ । गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्यो । त्यो पनि पर्याप्त परेन ।’ 



खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उनी बताउँछन् । ‘यहाँका डाँडाहरुमा भेटिने हाब्रे पनि लोप भएका छन् । डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५–७ वटा हुन्थ्यो । १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि देखिदैन’, उनी भन्छन् ।

हिमाली जिल्लामा विपद्

विसं २०७८ मा मनसुनको सुरुआतमै विपद आइलाग्यो । मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्यायो । मर्स्याङ्दी किनारका बस्ती खण्डहर भए । विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो । अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो । जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन । मर्स्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन् । विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ । यसले पनि यहाँका स्थानीयमा त्रास छ । 

मर्स्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन् । ‘नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन । एक्कासी बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो । हामीभन्दा पनि ज्येष्ठ व्यक्तित्वले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौँ’, नासों गाउँपालिका–१ का वडाध्यक्ष मिनराशी गुरुङ भन्छन्, ‘अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन् । परम्परागत बुझाइ अनुसार कली बहुलाएको भन्ने पनि गरिन्छ ।’

पर्याप्त हिउँ परेन

गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन । विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन । गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन । सो समयमा आंशिकमात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताउँछन् । ‘पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन’, उनी भन्छन्, ‘यस वर्ष सुरुआती हिमपात भयो । जाडो सुरु भएको छ । डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ, तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन ।’
    
गत वर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रुपमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका ओमबहादुर गुरुङले बताउनुभयो । “विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्मे भएर ढाकिएको हुन्थ्यो, गत वर्ष आंशिक रुपमा देख्न पनि मुस्किल भयो,’ उनले भने । 

हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्यो, मनाङका कृषक चिन्तित भए । हिमाली जिल्लामा नै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङले बताए । ‘मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हो, हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन’, उनले भने । 

हिउँ चितुवाको संरक्षण 

हिउँ चितुवालाई हिमालको रानी मानिन्छ । यसले हिमाली क्षेत्रको वातावरणको सूचक पनि हो हिउँ चितुवा । अहिले हिमाली क्षेत्रमा नै लोपोन्मुख अवस्थामा पुगेका छन् ।लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको हिउँ चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेशनका संयोजक नरेन्द्र लामाले बताए । उनले भने, ‘हिउँ चितुवाको भूमिकालाई मानवले बुझ्न आवश्यक रहेको छ ।’
    
उनका अनुसार लोपोन्मुख हिउँ चितुवाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको छ । उनी भन्छन्, ‘अब हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आगमनलाई बृद्धि गर्नुपर्छ । हाम्रो मुख्य आयस्तर नै पर्यटन भएकाले यसको पनि उपयोग गर्नुपर्छ ।’

हिउँ चितुवा बृद्धिले वातावरण सन्तुलनको सन्देश जाने उनले बताए । हिउँ चितुवाको वृद्धिले वातावरण सन्तुलन छ भनेर बुझ्न सकिन्छ भने चितुवाको सङ्ख्या घट्नुले जलवायु परिवर्तन भएको स्पष्ट सन्देश दिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको बताए । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानका रुपमा परिचित रहेको विज्ञ बताउँछन् । 

हिमाल काला पत्थर

वर्षमा दुई पटक हिमपात हुने मनाङमा आजकल हिमपात मुस्किलले हुन्छ । हिमपात नभएपछि यहाँका हिमशृङ्खला कालापत्थरमा परिणत भएको देखिन्छ । पुसदेखि माघसम्म हिउँले ढाकिएर सेताम्मे देखिनुपर्ने हिमालमा हिउँ कम देखिन थालेको स्थानीय याङ्दुङ गुरुङ बताउँछन् । उनी भन्छन्, ‘पहिलेजस्तो हिमपात अहिले हुँदैन । हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् ।’

मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको उनले बताए । हिउँ कम पर्दा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, चलु फरेस्ट, हिम्लुङ, मनास्लु, निलगिरी, तिलिचो पिक, थोराङ पिकलगायत हिमालको रङ उडेझै फिक्का देखिन थालेका छन् । 

मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । 

  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार १५:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया