दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टी-२० मा भारत विजयी

दक्षिण अफ्रिका र भारतबीचको टी-२० सिरिज ‘ड्र’ भएको छ । बिहीबार राति जोहानेसवर्गमा भएको शृंखलाको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा भारत १०६ रनले विजयी भयो । 

पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिका डीएल मेथड अनुसार विजयी भएको थियो । योसँगै सिरिज पनि १–१ को बराबरीमा सम्पन्न भयो । बिहीबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले १३.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा रोकियो ।

पहिला ब्याटिङ गर्दा भारतीय कप्तान सूर्यकुमार यादवले टी २० अन्तर्राष्ट्रिय करियरको चौथो शतक बनाए । यो शतकसँगै सूर्यले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानको बराबरी गरेका छन् ।  रोहित र म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा ४–४ शतक बनाएका छन् । 

सूर्यकुमारले करिअरको ६० औं खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसैगरी चाइनाम्यान स्पिनर कुलदीप यादवले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले जम्मा २.५ ओभरमा १७ रन दिएर ५ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो उत्कृष्ट प्रदर्शन हो ।

भारतले पहिला ब्याटिङ गर्दा टोलीले २९ रनको स्कोरमा २ विकेट गुमाएपछि दबामा आएको थियो । केशव महाराजले लगातार शुभमन गिल (१२) र तिलक वर्मा (०) लाई पभेलियनको बाटो देखाएका थिए । त्यसपछि यशस्वी जैसवाल (६०)ले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । यशस्वीले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । 

त्यसपछि सूर्यले चौथो विकेटका लागि रिंकु सिंह (१४) सँग ४७ रनको साझेदारी गरे । एन्डिल फेहलुकवायोको इनिङ्सको १३ औं ओभरमा सूर्यले ३ छक्का र एक चौका प्रहार गर्दै कुल २३ रन बनाए । त्यसपछि नन्द्रे बर्गरले इनिङ्सको १६औं ओभरमा २ चौका र १ छक्का प्रहार गर्दै ओभरमा कुल १७ रन बनाए । दक्षिण अफ्रिकाका लिजार्ड विलियम्स र केशव महाराजले २–२ विकेट लिए । नान्द्रे र तबरेज शम्सीले समान १–१ विकेट लिए ।



२०२ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ३५ रन बनाए । उनीबाहेक कप्तान एडन मार्करामले २५ रनको योगदान दिए । फरेरा (१२) दोहोरो अंकमा पुग्ने तेस्रो खेलाडी हुन् । भारतका लागि कुलदीपका अलावा रविन्द्र जडेजाले २ विकेट लिए । मुकेश कुमार र अर्शदीप सिंहलेसमान १–१ विकेट लिए ।



  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार ७:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया