बुद्धशान्तिमा हात्ती आतंक : त्रासमा स्थानीय, दिउँसै हुन्छ जम्काभेट
फाइल तस्बिर

झापाको बुद्धशान्ति गाउँपालिका–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैंझैँ घरबाट निस्किइन् । २० मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन् ।   

पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । उनी हरेक बिहान ५ बज्नु अगावै निन्द्राबाट ब्यूँझिन्छन् । उक्त बिहान पनि सबेरै ब्युँझिनु भएका उनी आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो । 

हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए । गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्यायो । एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउँछन् । गाउँका मानिस घरधन्दा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन् ।

‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ । तर, बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । 

जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ । ‘हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,’ मेचीनगर–१५ सुकुम्वासी वस्तीका दुर्गाबहादुर बुढाथोकीले भने, ‘बाक्लो हुस्सु लागेको हुन्छ । हात्ती पनि जताततै भेटिन थालेका छन् । कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।’ 

झापाका १५ वटै पालिका हात्ती प्रभावित छ । डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावक आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन् ।



बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले वस्तीमा दिनहुँ जङ्गली हात्ती पस्ने गरेको बताए । साँझ नपर्दै वस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पुर्याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । जंगली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताए । स्थानीय युवाहरू साँझ पर्नेबित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उनले जानकारी दिए । 

अभिभावकलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ । ‘जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,’ बाँस्तोलाले भने, ‘स्कुल पठाउँदा समेत चिन्ता हुन थालेको छ । अब घर र सडक कतै पनि सुरक्षित रहेन ।’  



सडकमा कलेज बसको हर्न बज्नेबित्तिकै घरबाट निस्किएको जनाउँदै स्थानीय किरण बाँस्तोलाले भने, ‘चिसोका कारण बाक्लो हुस्सु लागेको थियो । उनीहरू यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए । एक्कासि सडकमा हात्ती आइपुग्यो ।’ 

दुवै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । भागेर ज्यान जोगाउन सफल उनीहरू आगामी दिनमा कसरी कलेज जाने भन्ने कुराले चिन्तित छन् । दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको बाँस्तोलाको भनाइ छ । दैनिकजसो गाउँ डुल्ने जङ्गल हात्तीका कारण बुद्धशान्तिको जङ्गल आसपासका बच्चादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जङ्गली हात्तीको बिगबिगी रहेको स्वीकार गरे । उनले जलथल, पृथ्वीनगर, रङ्गेडाँडा, हल्दीबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताए । विभिन्न वनमा छरिएर बसेका र हुल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उनले बताए ।

‘एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ,’ राईले भने । उनले झापाको जङ्गलमा हाल ४० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको बताए ।  

दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको वन प्रमुख राईले जानकारी दिए । हात्तीलाई जङ्गलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जङ्गल वरिपरि राज्यको करोडौं लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेरबार गरिएको छ । 

स्थानीयले आफूखुसी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्ने समेत उपाय गर्दै आएका छन् । तर, विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव वस्तीलाई निशाना बनाउन छाडेको छैन । रासस 

  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार ७:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया