मीन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निष्कर्ष
१४ किलो सुन प्रकरणमा पक्राउ परेकालाई भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने

दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ केजी सुन नेपाल भित्र्याएको खुलेको छ । मंसिर २१ गते बिहीबार राति फ्लाई दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो । 

विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नहवबिरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताए । मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मीनबहादुर घलेबाट सुरु भएको अनुसन्धानमा हालसम्म नौजना पक्राउ परेका छन् । उनीहरू सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताए । 

मंसिर २१ गते बिहीबार राति फ्लाई दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट भन्सार टोलीले १४ केजी सुन बरामदपछि सुनको छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा बनेको किमिटीले विमानस्थलमा समस्या, गर्नुपर्ने सुधारका विषय औँल्याएको उनले बताए । उनले केही सम्भाव्य अभियुक्तहरुको नामसमेत प्रतिवेदनले समेटेको बताए । 

उनले संलग्न भएकाहरूलाई भन्सार ऐनले दिएको समयावधि (२५ दिन) भित्र मुद्दा दर्ता गर्ने बताए । फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गोरखाका मीनबहादुर घले, गोरखाकै चन्द्र घले, स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाडौं ८ का शेरबहादुर बस्नेत, नुवाकोटका लेकबहादुर तामाङ, काठमाडौं ८ का राधाकृष्ण श्रेष्ठ, काठमाडौंकै रमेश देउला, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ रहेका छन् । समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । 

घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङकङ, थाइल्याण्डलगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।



विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले भने,‘मंसिर २१ गते बिहीबार राति फ्लाई दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट भन्सार टोलीले १४ केजी सुन बरामद गर्यो । बरामदपछि त्यो सुनको विस्तृत छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा हामीले एउटा कमिटी गठन गर्यौँ । त्यो कमिटीलाई सुरुमा ५ दिनको समय दिइएको थियो, त्यसपछि ७ दिन र प्रतिवेदन तयारी, प्रस्तुति लेख्न भनेर ३ दिन थप गर्यौँ । र, आज यस कार्यालयलाई समितिको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदनले देखिएका समस्या, गर्नुपर्ने सुधारका विषय औँल्याएको छ । केही सम्भाव्य अभियुक्तहरुको नामसमेत प्रतिवेदनले समेटेको छ । अब हामी भन्सार ऐनले दिएको समयावधिमा रहेर २५ दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने कारणले अब यसको फाइनान्सिङको आधारमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछौँ । यो प्रतिवेदनले यो समूहको संलग्नतामा १३८ केजीसम्म सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको छ । हामी अब मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछौँ, मुद्दा दर्ताको प्रक्रियामा अभियुक्तहरु, यस्तो भेटिएको अवैध वस्तुहरु समेतलाई बिगो कायम गरेर प्रक्रिया अघि बढाउनेछौँ ।’



  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार २१:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया