तस्करीका कारण बदनाम विमानस्थल, समितिका सुझाब मान्दैन सरकार
तस्कर र कर्मचारी मिलेर यसरी गर्थे सुन तस्करी

मुलुककै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल विभिन्न कारणले पटक–पटक बदनाम हुँदै आएको छ । पछिल्लो समय भने अन्तर्राष्ट्रिय विमानस्थललाई गिजोलेको छ, सुन तस्करीको घटनाले । सुन तस्करीको अखडा बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुन थालेको छ । सुन तस्करीका एकपछि अर्को ठूलो काण्ड सतहमा आइरहेका छन् । काण्डमा तस्करसँगै उद्योगी–व्यापारी, राजनीतिक नेतृत्व, प्रहरी प्रशासन र कर्मचारी संयन्त्रसमेत मुछिएको अध्ययनले देखाउँछ ।

तर, तस्करी रोकिएको छैन, बरु शैली र रूप बदलिएका छन् । तस्करी झनझन् मौलाउँदै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । पटक–पटक ठूला परिमाणमा सुन भित्रिनुको कारण खोज्न विभिन्न चरणमा अध्ययन अनुसन्धान भएका छन् । अध्ययनले अवैध सुन भित्रिनुको मुख्य कारण विमानस्थलको सुरक्षा जाँचपास प्रणालीलाई औँल्याएको छ । त्यसको ज्वलन्त उदाहरण हो– १४ किलो सुन तस्करी ।

चन्द्र र कृष्ण दुबई जान्थे र दुबईमा बस्ने भारतीय नागरिकलाई भेट्थे । भारतीय नागरिकले सुनको ज्याकेट उनीहरूलाई दिन्थे । जहाजमार्फत चन्द्र र कृष्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्थे । विमानस्थलको आगमन कक्ष प्रवेश गरेपछि उनीहरू सरासर कक्षमा रहेको शौचालय जान्थे । सुनको ज्याकेट खोलेर शौचालयभित्रको सफाइ गर्ने बाकसमा स्टोर गर्थे र उनीहरू सहजै बाहिरिन्थे । 

२१ मंसिरमा १४ किलो सुन तस्करी गर्ने समूहले नै पटक–पटक गरी १३८ किलो सुन नेपाल भित्र्याएको अनुसन्धानमा खुलेको छ । उक्त सुन तस्करीमा नेपालतर्फ मुख्य व्यवस्थापकको भूमिका निभाएका थिए, गोरखा बारपाक सुलिकोट गाउँपालिकाका मीनबहादुर घले । उनको दुबईमा बस्ने भारतीय नागरिकसँग सीधा सम्पर्क थियो । सुन तस्करीका लागि उनले विमानस्थलमा सहयोगी डिबी भनिने दनबहादुर गुरुङमार्फत सेटिङ मिलाएका थिए । दुबईबाट नेपालको विमानस्थलसम्म सुन ल्याउने जिम्मा भने गोरखा बारपाक सुलिकोट गाउँपालिकाका चन्द्र घले र रुपन्देही तिलोत्तमा नगरपालिकाका कृष्णकुमार श्रेष्ठलाई दिएका थिए । 

चन्द्र र कृष्ण दुबई जान्थे र दुबईमा बस्ने भारतीय नागरिकलाई भेट्थे । भारतीय नागरिकले सुनको ज्याकेट उनीहरूलाई दिन्थे । जहाजमार्फत चन्द्र र कृष्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्थे । विमानस्थलको आगमन कक्ष प्रवेश गरेपछि उनीहरू सरासर कक्षमा रहेको शौचालय जान्थे । सुनको ज्याकेट खोलेर शौचालयभित्रको सफाइ गर्ने बाकसमा स्टोर गर्थे र उनीहरू सहजै बाहिरिन्थे । 

सुन आएको जानकारी दनबहादुरले नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रमेश देउलालाई गराउँथे । देउलाले सुन आएको यकिन गर्न प्राधिकरणकै शेरबहादुर बस्नेतलाई भन्थे । सुन आएको यकिन भएपछि लेकबहादुर तामाङलाई जानकारी गराउँथे । लेकबहादुर शौचालय जान्थे  र सुन राखिएको ज्याकेट लगाएर भिआइपी कक्ष हुँदै अर्को शौचालयमा उक्त ज्याकेट राखिदिन्थे । त्यसपछि प्राधिकरणकै अर्का कर्मचारीलाई जानकारी गराइन्थ्यो ।



फेरि उक्त कर्मचारी शौचालय गएर सुनको ज्याकेट लगाउँथे । अपत्कालीन ढोका हुँदै तेस्रो तलामा रहेको एसी मेन्टिनेन्स कक्ष पुग्थे । उनी कक्षबाट छत हुँदै अर्को आपतकालीन सिँढीबाट तल झर्थे । र, अर्को कर्मचारीलाई खबर गरिन्थ्यो । ती कर्मचारीले आपतकालीन ढोका खोलेर बाहिर निकाल्थे । उनीहरू ढोका पुनः बन्द गरेर सुन लिएर विमानस्थलको पार्किङ कक्ष पुग्थे । पार्किङमा उनीहरूको प्रतीक्षामा रहेकालाई सुन जिम्मा लगाएर फर्किन्थे । 



यो त एक उदाहरण मात्रै हो । विमानस्थल सुरक्षा प्रणाली कमजोर बन्दा सुन मात्र होइन, विगतदेखि नै मानव, लागुऔषध तस्करी संरक्षणको आरोप लाग्दै आएको छ ।

कसरी सुधार गर्न सकिन्छ विमानस्थलको सुरक्षा ?

गत मंसिर २१ गते (बिहीबार) राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भयो । १४ किलो सुन बरामद गरेको भोलिपल्टै तस्करीको छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्यो ।  

गत मंसिर २२ गते गठन भएको १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठन भएको समितिले आइतबार (पुस ८) प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले उक्त तस्करहरूले पटक–पटक गरी जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याएको निष्कर्ष निकाल्दै विमानस्थलको सुरक्षा जाँचपास प्रणाली सुदृढ गर्न केही सुझाब दिएको छ । 

समितिका अनुसार एउटा संयुक्त समन्वय कक्ष (स्थापना गरी तत्कालका सूचना समन्वय गर्ने तथा आइपरेका समस्याहरूको कार्यक्षेत्र र जिम्मेवारीअनुसार निकायको तर्फबाट समाधान गर्न पहल गर्न आवश्यक रहेको जनाएको छ । यस्तै, अध्यागमन कार्यालयले पटक–पटक दुबई, सिंगापुर, हङकङ, थाइल्याण्डलगायत देशमा आवागमन गरिरहेका यात्रुको सूचना भन्सार तथा प्रहरीलाई दिने–लिने व्यवस्था मिलाउने पनि भनिएको छ । 

हाल व्यक्तिगत सवारी साधनहरू मोटरसाइकल, स्कुटर तथा कारसमेत विमानस्थलको सेक्यिुरिटी चेक पोइन्टभन्दा भित्र लगी आफ्नो एयरसाइड क्षेत्रमा रहेको कार्यालय परिसरमा लगी राख्ने व्यवस्था छ । त्यसैले त्यस्ता सवारी साधन सेक्यिुरिटी चेक पोइन्टभन्दा भित्र लैजान दिन नहुने तर्क गरेको छ । 

यस्तै, नेपाल आयल निगम, त्रि.अ.वि. गौचरणको सिनामंगल चोकस्थित गेटमा मेटल डिटेक्टर तत्काल राख्नुपर्ने, आयल निगममा जाने कर्मचारीको सवारीसाधन पार्किङ गरेपश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँचपछि मात्र आफ्नो सवारीसाधनसम्म जाने व्यवस्था मिलाउनुपर्ने समितिका संयोजक तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेल बताउँछन् ।  

यस्तै, उनका अनुसार सिनामंगल ओरालोको छेउमा विमानस्थलको पेरिमिटरभित्र रहेको प्रहरी ब्यारेकको प्रवेशद्वारबाहिर चक्रपथतर्फ खोली ब्यारेकको पछाडितर्फको भागमा फेसिङ गरी बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्छ । यस्तै, अन्तराष्ट्रिय रन वेको १ नं वेको छेउ हुँदै आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारीसाधनको आवत–जावत बन्द गर्नुपर्ने समितिको सुझाब छ । 

यस्तै, समितिले कार्गोबाट परिचालन हुने ट्याक्टर तथा ट्रलीहरूका लागि हालसालै विकसित नयाँ रुटबाट आवागमन गराउँदासमेत आयल निगमको कार्यालयनजिकको पार्किङ इलाका हुँदै जाँदा उक्त कार्गो बोकेको सवारीसाधनलाई अन्य सवारी साधनसँग सम्पर्क नहुने गरी सुनिश्चित गर्नुपर्ने समितिको भनाइ छ । 

यस्तै, निरीक्षणका लागि जाने इन्जिनियरहरूको टिमले जहाजको नजिकै लगी आफ्नो सवारीसाधन लैजाने गर्छन् । त्यसकारण उनीहरूले आफ्नो टुलबक्सलगायतका औजार विमानमा लैजानुअघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको पनि अधिकृत पौडेल बताउँछन् । 
 
यस्तै, अध्ययनका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन तर्फको शौचालयको अपांगमैत्री क्याबिनको भित्रपट्टि रहेको ढोकामा तालासमेत लगाई गोप्य रूपमा राख्न मिल्ने संरचना रहेको भन्दै समितिले यस्ता छिद्रहरू तत्काल सुधार गर्नुपर्ने सुझाब औँल्याएको छ । 

‘त्रिअविको आगमनतर्फ शौचालयको अपांगमैत्री क्याबिनको भित्रतर्फको ढोकामा तालासमेत लगाई गोप्य रूपमा राख्न मिल्ने संरचना रहेको देखियो’, समितिले भनेको छ, ‘यस्ता संरचना तस्करीको सुन ल्याई लुकाउने गरेको देखिएकाले त्यस्ता छिद्र तत्काल सुधार गर्नुपर्छ ।’

यति मात्र होइन, अन्तराष्ट्रिय आगमनको भिआइपी कक्षमा भिआइपी विन्दुमा मेटल फ्री गराउने, स्क्यानिङ गर्ने समेतको काम भन्सार कार्यालयले र विमानस्थल सुरक्षा प्रहरीले २४सै घन्टा ड्युटी रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउनुपर्ने आवश्यकता पनि औँल्याएको छ । 

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनका संरचनाहरूमा सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट विभिन्न छिद्रहरू रहेकोले त्यसलाई पनि नियमन गर्नुपर्ने समितिले जनाएको छ ।

‘त्यस्ता छिद्र रहेका स्थानका ढोका, आपतकालीन प्रवेशद्वारलगायतका स्थान सिसिटिभीको निगरानीमा राख्ने बन्द गरी सम्बन्धित व्यवस्था मिलाउने’, समितिले भनेको छ, ‘सेवा प्रदायकहरू, जस्तैः चमेनागृह, मुद्रा सटही काउन्टर, सिआइपी लाउन्जलगायतका कर्मचारीको विमानस्थल पास ड्युटी नभएको अवस्थामा टिआइएले निगरानी राख्ने व्यवस्था मिलाउन आवश्यक छ ।’

समितिले प्रस्थानतर्फको स्टेरिलाइज्ड वेटिङ हलमा असम्बन्धित पासबाहक कर्मचारी प्रवेशलाई रोक्न पास वितरण गर्दा तथा संरचनागत रूपले समेत सेवा प्रवाह गर्दा वैकल्पिक बाटोको समेत व्यवस्था मिलाउन पनि भनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याम्पमा रहेका सरसफाइ कर्मचारीको झोला–टिफिनलगायत सामान राख्ने सेल्टर, सेड र कन्टेनरमा लकरसमेत रहेको देखिएकाले त्यस्ता संरचनालाई तत्कालै त्यहाँबाट हटाई सुरक्षा जाँच विन्दुभन्दा बाहिर राख्न पनि समितिले सुझाएको छ ।

यसअघि विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा गठित कार्यदलले अध्ययन गरेर प्रतिवेदन २८ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ । तर, अहिलेसम्म प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ भने विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । 

कार्यान्वयन होला त सुझाब ?

विमानस्थल सुरक्षालाई सुदृढीकरण गर्न भन्दै सुझाब दिइएको यो पहिलोपटक भने होइन । यसअघि विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा गठित कार्यदलले अध्ययन गरेर प्रतिवेदन २८ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ । तर, अहिलेसम्म प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ भने विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालयलगायत निकायका उच्च अधिकारी रहेको समितिले पनि विमानस्थलको सुरक्षा कमजोर बन्दा पटक–पटक भन्सारबाट सुनलगायत अवैध सामान पास भएको जनाएको छ । यो समितिभन्दा पहिला–पहिला पनि सुन तस्करी घटनालाई लिएर थुप्रै अध्ययन अनुसन्धान भएका छन् । 

ती समितिहरूले पनि विमानस्थल व्यवस्थापन सुधारका साथै भौतिक संरचनामा पनि सुदृढ बनाउनुपर्ने सुझाब दिँदै आएका छन् । तर, न विमानस्थल सुरक्षा प्रणालीमा सुधार आएको छ, न त सुन तस्करी नै रोकिएको छ । विमानस्थलको आगमन कक्षमा प्रहरीलाई निषेध छ । भन्सारले प्रहरीलाई प्रवेश रोकेर निजी सुरक्षा कम्पनीका कर्मचारीमार्फत चेकजाँच गराउँछ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण मातहत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६८ वटा सरकारी, अर्धसरकारी र निजी संघसंस्था छन् । जसको प्रमुख व्यवस्थापन विमानस्थल प्रशासन वा नागरिक उड्डयन प्राधिकरणले गरेको हुन्छ । तर, अन्तरनिकाय समन्वय र प्रविधिमा कमजोर हुँदा तस्कर मौलाइरहेका छन् । 

यसपटक भने विमानस्थल सुरक्षा प्रणालीलाई सुधार गर्दै लैजाने नागरिक उड्डयन प्राधिकरण (क्यान)का उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । उनका अनुसार समितिले औँल्याएका त्रुटिलाई सुधार गरिनेछ । ‘समितिले दिएका सुझाब औपचारिक रूपमा हामीलाई आएको छैन,’ प्रवक्ता निरौला भन्छन्, ‘मैले पनि मिडियाबाटै केही सुझाब थाहा पाएँ । पछि त्यो सुझाब हामी कहाँ आउला । सुझाब नै नआए पनि हामीले विमानस्थल सुरक्षा प्रणालीलाई चुस्त–दुरुस्त पार्न सधैँ लागिपरिरहेका छौँ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौला

उनी भन्छन्, ‘यसअघि पनि विमानस्थल सुरक्षालाई ध्यानमा राखेकै थियौँ । तर, अहिलेको अध्ययनले यो–यो समस्या छन् भनेर थप समस्या थाहा भयो । जुन अनुमान समेत गरिएको थिएन । ती क्षेत्रलाई पनि अब कडाइ गर्ने, व्यवस्थित गर्नेछौँ ।’

हुन त पटक–पटक सरकारले विमानस्थल सुरक्षा प्रणालीलाई सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे पनि सुन तस्करी रोकिएको छैन । पछिल्लो समय विदेशबाट सुन लिएर आउनेले विमानस्थलस्थित शौचालयको डस्टबिनमा सुन राख्ने र त्यहाँका कर्मचारीले पास गराउने गरेको अनुसन्धानमा खुलेको छ । 

विगतमा गोरे समूहले पनि प्रहरी तथा एयरलाइन्सका कर्मचारीलाई यसैगरी प्रयोग गरी वर्षाैंसम्म सुन तस्करी गराएको पत्ता लागेको थियो । त्यसपछि पनि विमानस्थलको सुरक्षामा सुधार हुन सकेको छैन । सरकार विमानस्थलको सुरक्षामा लापरबाही र उदासीनता देखाउँदै आएको छ । 

  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १८:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया