‘ब्लडमनी’ तिरेर फर्किएका सुवास भन्छन्– ‘पुनर्जीवन पाए, अब विदेश जाँदैन’

‘ब्लडमनी’ तिरेर घर फर्किन सफल झापाका कनकाई–४ का ३३ वर्षीय सुवास राउत अब वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षण बिर्सिँदै अब स्वदेशमै रोजगारी गर्न चाहन्छन् ।

‘अब विदेश जान्न, गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न, तर अब स्वदेशमै गरिखाने हो,’ उनले भने । पाँच वर्षअघि कतार गएका उनलाई केही वर्षमै साथी हत्याको झुठो आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनायो ।  

मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरूले बचाएर एक महिना अघि स्वदेश ल्याएका छन् । गाउँलेले चन्दा उठाएर ब्लडमनी तिरेपछि मृतकका परिवारले उनलाई माफी दिएका थिए भने त्यसकै आधारमा अदालतले राउतलाई स्वदेश फर्किन अनुमति दिएको थियो ।

स्वदेश फर्केपछि उनी गाउँकै कनकाइ ‘वेभरेज’ नामक पानी उद्योगमा काम गर्न थालेका छन् । उनकी पत्नी कुमारी राउत घर निर्माणको काममा मजदुरी गर्दै आएकी छन् । राउत दम्पतीका एक छोरी र एक छोरा छन् । १२ वर्षीया छोरी र आठ वर्षीय छोरा स्थानीय विद्यालयमा क्रमशः सात र एक कक्षामा पढ्दैछन् ।

आर्थिक अवस्था दयनीय

राउत परिवारको आर्थिक अवस्था दयनीय छ । खेती किसानी गर्ने जग्गा जमिन केही नभएका कारण छोराछोरी पढाउने र घरको गर्जो टार्ने उद्देश्यका साथ सन् २०१७ मा उनी कतार गएका थिए । कतारमा उनले पानी र फर्निचर उद्योगमा श्रमिकको काम गरे ।  



विदेशको आर्जन घर पठाउन थालेको केही अवधिमै राउत जेल परे । त्यसपछि उनमा बाँचेर घर फर्किन पाइएला भन्ने आश नै मरिसकेको थियो । उनकी पत्नी कुमारी राउतले ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण र पढाइको जोहो गरिन् । गाउँलेले सहयोग नजुटाएको भए परिवारले ब्लडमनी बुझाउने अवस्था नरहेको राउतले बताइन् ।  

बस्नका लागि कनकाई–४ को एक कठ्ठा ऐलानी जग्गामा सानो भुइँघर छ । त्यसको धनीपुर्जा कहिले पाइने हो टुङ्गो छैन । ‘वडा कार्यालयमा जग्गाको धनीपुर्जा पाउँ भनेर निवेदन दिएका छौँ’, कुमारीले भनिन् । 



उनले पति कतारको जेलमा परेपछि घर चलाउन ४ लाख जति ऋणमा परेको बताइन् । सुवास जेलमा परेको खबर सुनेर आमा दुर्गामाया राउतको मृत्यु भएको थियो । आमाको काजकिरिया उनले स्वदेश फर्केर आएपछि गरे ।  

रोजगारी दिने कनकाई बेभरेजका सञ्चालक किरण दवाडीले ब्लडमनी तिरेर आएलगत्तै आफूले रोजगारी दिएको बताए । ‘विदेश जानुभन्दा अगाडि पनि हाम्रो उद्योगमा काम गर्नुभएको थियो’, दवाडीले भने, ‘साह्रै सोझो र इमानदार हुनुहुन्छ । त्यस्तो मान्छेलाई अदालतले मृत्युदण्डको फैसला सुनाउँदा हामीलाई पत्यार लागेको थिएन । उनी निर्दोष हो भनेरै सबै गाउँलेहरू ब्लडमनी रकम सङ्कलन अभियानमा जुटेका थियौँ ।’ 

कसरी सम्भव भयो पुनर्जीवन ?

कतारस्थित आफ्नो डेरामा २०७६ सालको चैततिर साथीहरूको जमघटमा झगडा हुँदा खोटाङ जिल्लाको ऐँसेलुखर्क–५ का लामाकाजी राईको निधन भएको थियो । राई र राउत एउटै कोठामा बस्ने अत्यन्त मिल्ने साथी थिए । 

नुहाएर कोठामा आउँदा राईको शरीरमा छुरी गाडिएको अवस्था थियो भने अरू साथी भागिसकेका थिए । साथी बचाउन खोज्दा लागेको फिङ्गर प्रिन्टका आधारमा अदालतले राउतलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

कहिल्यै मदिरा नखाने र झै–झगडा नगर्ने स्वभावका राउतलाई यस्तो अभियोग लागेको विषयमा गाउँलेलाई पत्यार लागेको थिएन । कतारमा सम्पर्क गर्दा राउतले आफू निर्दोष रहेको बताएपछि कनकाई–४ का तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा बचाउने अभियान सुरु गरिएको थियो ।

सोही अभियानले खोटाङ गएर मृतकको परिवारसँग सम्पर्क गरेको कनकाई–४ का वर्तमान वडाध्यक्ष रोशन सुवेदीले बताए । ‘अभियानका साथीहरूले मृतकका परिवारलाई भेटेर ब्लडमनीबापतको रकम १५ लाख रुपैयाँ बुझाउने सहमति गर्नुभयो’, वडाध्यक्ष सुवेदीले भने, ‘राउत निर्दोष थिए भन्ने कुरा राई परिवारलाई पनि महसुस भएको रहेछ । एउटा साथीको मृत्यु भयो, अर्को साथीलाई पनि किन जेलमा सडाउने भन्ने कोणबाट छलफल हुँदा राई परिवारसँग सहमति भएको हो ।’ 

ब्लडमनी जुटाउन ‘राउत बचाउ अभियान’ले स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम संकलन गरेको थियो । अभियानबाट २० लाख २४ हजार ६ सय ५० सङ्कलन भएको र ब्लडमनी बुझाएर बचत रहेको २ लाख ५० हजार स्थानीय कनकाई बालविकास केन्द्रलाई सहयोगबापत हस्तान्तरण गरिएको अभियानका सचिव किरण दवाडीले बताए ।  

सुवासलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन कनकाई नगरपालिका, स्थानीयवासी, एनआरएन, कतार दूतावास लगायतबाट सहयोग प्राप्त भएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउँछन् । ‘उहाँ निर्दोष हुनुहुन्थ्यो, त्यसैले ब्लडमनी जुटाएर फर्काउन केही सहज भयो’, नगरप्रमुख पोखरेल भन्छन्, ‘नत्र ब्लडमनी जुटाउन नसकेर विदेशको जेलमा अहिले पनि कष्टपूर्ण जीवन बिताइरहनुभएका थुप्रै नेपाली हुनुहुन्छ ।’ 

तीन वर्ष तीन दिन कतारको जेलमा बसेर घर फर्किएका सुवास राउतको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी पानी उद्योगको नियमित कामकाजमा लागिरहेका छन् । राउतले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको सुनाए । रासस 

  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १३:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया