राष्ट्रिय सभा निर्वाचन
एमालेका लागि गणितीय गडबडी : १९ को नौ हात लाग्यो शून्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सभामा बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन–तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई–दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदै छ । खाली हुन लागेका १९ मध्ये एमालेबाट मात्रै नौ सिट खाली हुँदै छन् ।  

राष्ट्रिय सभाको २०८० माघ ११ गते हुने निर्वाचनका लागि सुरुमा सत्ता गठबन्धनसँग तालमेलको कुरा चलाए पनि अन्तिममा कुरा नमिल्दा एमालेले सबै पदमा आफ्ना उमेदवार उठाउने भएको छ । त्यसका लागि एमलेले सबै प्रदेशबाट उम्मेदवारको नाम तय गरेको छ ।

जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता–अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाउने भएको छ । 

त्यस्तै, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवारका रूपमा अघि सारिएको जानकारी एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत दिएका छन् । 

सबै पदमा उम्मेदवारी दिए पनि सत्ता गठबन्धनसँग तालमेल प्रयास असफल भएसँगै राष्ट्रिय सभा निर्वाचनमा एमाले खाली हात हुने भएको छ । 



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय विधेयकमा प्रतिपक्षी एमालेको साथ आवश्यक पर्ने भन्दै राष्ट्रिय सभामा उसलाई पनि समेट्ने प्रयास गरेका थिए । प्रचण्डको प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहमत भइसकेका थिए । 

एमालेले ६ सिटमा दाबी गरे पनि कांग्रेस–माओवादी उसलाई तीन सिटसम्म दिन तयार भएका थिए । तर, अन्य साना दल एमालेसँग तालमेल गर्न नहुने पक्षमा देखिए । तीमध्ये पनि एमालेबाट छुट्टिएर गठन भएको एकीकृत समाजवादीले एमालेलाई ‘भाग’ दिन नहुनेमा जोडदार रुपमा अडान लियो । 



कुरा नमिलेपछि अहिले एमाले​ले गठबन्धनसँग सिट नमागेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेको नाम लिएर गठबन्धनभित्र ब्ल्याकमेलिङ गरेको आरोप लगाउन थालेको छ । 

तर, सत्ता गठबन्धनले यसअघि पनि एमालेलाई संसदका तीन समितिमा मात्रै होइन, सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिमा समेत भाग दिएको थियो । 

एमालेले आफूले छुट्टै सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेसँगै गठबन्धनले सिटको भागबन्डा टुंग्याइसकेको छ । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने सहमति भइसकेको छ । 

राष्ट्रिय सभाबाट एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, इन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राईसहित नौजना बाहिरिँदै छन् । 

त्यस्तै, कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव गरी चारजना बाहिरिँदै छन् । त्यस्तै माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल गरी तीनजना, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं गरी दुईजना र जसपाबाट प्रमिलाकुमारी यादव एकजना बिदा हुँदै छन् ।

यस निर्वाचनपछि माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल बन्दै छ । अहिले माओवादीका १५ सांसद रहेकामा तीनजना बिदा हुँदैछन् भने ६ जना थपिँदै छन् । जसअनुसार माओवादीको १८ सिट पुग्नेछ । 

त्यस्तै, अहिले १० सांसद रहेको कांग्रेसका ४ जना बाहिरिँदै छन् भने १० जना थपिँदै छन् । जसअनुसार कांग्रेस १६ सिटसहित दोस्रो दल बन्दै छ । 

हाल १७ सांसद रहेको एमालेका नौजना बिदा भएपछि ऊसँग ८ सिट मात्रै बाँकी रहनेछ । सबै प्रदेशमा गठबन्धनको बहुमत छ । त्यसैले एमालेले एक सिट पनि जित्ने सम्भावना छैन ।

हाल नेकपा एसका आठ सांसद छन् । उनीहरुमध्ये दुईजना बाहिरिने र दुईजना नै थपिने हुँदा उसको आठ सिट नै कायम रहनेछ । आगामी निर्वाचनपछि राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादी बराबरीको हैसियतमा हुनेछन् । 

  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार २१:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया