चुनावपछि राष्ट्रिय सभामा दलहरूको हैसियत : माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो स्थानमा

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले  मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिस्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरूले सिट भागबण्डासँगै मनोनयन दर्ताबाट गरिसकेका छन् ।  

दलहरूले केही नेतालाई प्रत्यक्ष निर्वाचनमा हारे पनि राष्ट्रिय सभामा व्यवस्थापन गर्न खोजेका छन् । व्यवस्थापनमा गठबन्धनको सदाशयता पाएका नेता हुन्, कांग्रेसका कृष्णप्रसाद सिटौला । उनले कोशीबाट मनोनयन दर्ता गराएका छन् । आफ्नै दलभित्र गुटको भागबण्डामा सहमति नहुँदै उनको टिकट पक्का भइसकेको थियो ।

सत्ता गठबन्धन दलहरूले आफ्नो भागमा परेको सिटका लागि मात्र उम्मेदवारी दर्ता गराए । प्रमुख प्रतिपक्षी एमालेले १९ सिटमै प्रतिस्पर्धा गर्दैछ । आगामी २० फागुनमा पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये धेरै अर्थात् ९ जना एमालेका छन् । यसमा निर्वाचित ८ छन् भने राष्ट्रपतिले मनोनीत गरेका एकजना छन् । गुमेको सिटमा एमाले फर्किने सम्भावना निकै कम छ । 

निर्वाचनमा पार्टीको निर्देशनअनुसार मतदाता इमानदार भए १९ सिटमै गठबन्धन दलको वर्चस्व हुने देखिएको छ । राष्ट्रपतिले मनोनीत गर्ने सदस्य पनि गठबन्धनभित्रकै नेताको भागमा जाने पक्का छ । 

राष्ट्रिय सभामा अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने देखिएको छ । माओवादीबाट हाल उपाध्यक्षसमेत १५ जना छन् । तीनजना फागुन २० मा बिदा भए पनि ६ जना निर्वाचित भए माओवादी सांसदको संख्या १८ पुग्नेछ ।

राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । जसमा चारजना २० फागुनमा बिदा हुँदै छन् । गठबन्धनको योजनाअनुसार नतिजा आए कांग्रेसका १० जना निर्वाचित हुनेछन् । यो अवस्थामा १६ सिटसहित कांग्रेस राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्नेछ । 



एकीकृत समाजवादीले गठबन्धनको भागबण्डामा दुई सिट पाएको छ । दुई सांसद फागुन २० बाट बिदा हुँदा त्यही सिट पदपूर्तिले एकीकृत समाजवादीका लागि यो निर्वाचन खासै लाभहानिको देखिँदैन । जबकी अहिले १८ सांसदसहित ठूलो दल रहेको एमाले भने तेस्रो हुने देखिएको छ । ९ सांसद घटेपछि उसका ९ जना बाँकी हुनेछन् । 

नयाँ संविधान जारीसँगै तीन तहको सरकारको अभ्यासमा मुलुकले अझै धेरै कानुन बनाउनै बाँकी छन् । समाजमा पछाडि पारिएका वर्गको पहुँच अझैसम्म सुनिश्चित भइसकेको छैन । निर्वाचन आयोगका अनुसार सोमबार दर्ता भएका ५२ मनोनयनमा महिला समूहतर्फ १८, दलिततर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको छ ।



सबैभन्दा धेरै मनोनयन बागमती प्रदेशमा परेको छ । महिला चार, दलित तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि चार र अन्य समूहका लागि चारजना गरी १५ जना उम्मेदवारको मनोनयन परेको छ । कोशी र मधेश प्रदेशमा महिला दुई र अन्य समूहका लागि तीन गरी पाँच÷पाँच जनाको मनोनयन दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई र अन्य समूहका तीनजना गरी जम्मा ८ जनाको मनोनयन दर्ता भएको छ ।

लुम्बिनीमा महिला तीन, अन्य समूहका लागि चारसहित सात जनाको मनोनयनपत्र दर्ता भएको छ । कर्णालीमा महिला दुई, दलित समूहका लागि दुई र अन्य समूहका लागि दुई गरी जम्मा ६ जनाको मनोनयन दर्ता भएको छ ।

सुदूरपश्चिममा महिला दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई र अन्य समूहका दुई गरी ६ जनाको मनोनयनपत्र दर्ता भएको छ । आयोगले २४ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते निर्वाचन चिन्ह वितरण गर्ने आयोगको कार्यतालिका छ ।

निर्वाचनका लागि आयोगले मतदाता र मतभार आइतबार सार्वजनिक गरिसकेको छ । जसअनुसार सातै प्रदेशमा प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् । 

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७  छ । स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४ सय ६२ छ । दुवैतर्फ गरेर २ हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार ५ सय ५९ छ । 

कहाँ कति मतदाता र मतभार ? 
 

  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ७:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया