प्रधानमन्त्री कपमा सुदूर पश्चिमको लगातार तेस्रो जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । सिद्धार्थ रंगशाला भैरहवामा बिहीबार भएको खेलमा सुदूर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । गण्डकीको भने यो लगातार तेस्रो हार हो ।

सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा गण्डकी प्रदेश ३०.२ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूर पश्चिमको सुरुवात भने राम्रो रहेन ।

सुदूर पश्चिमले लगातार विकेट गुमाएका बेला सातौँ नम्बरमा आएका किरण ठगुन्ना र नारायण जोशीले पारि सम्हालेका थिए । ठगुन्नाले ६० रनको अर्धशतकीय पारि खेल्दा जोशीले ४६ रनको महत्त्वपूर्ण पारि खेले । यस्तै शेर मल्लले १९ रन बनाउँदा कप्तान राजु रिजालले १६ तथा टेक रावतले १५ रन बनाए । नरेन साउदले १३ रन जाडेपछि सुदूर पश्चिमको स्कोर २०० प्लस कटेको थियो ।
गण्डकीका विपीन खत्री र अंकित न्यौपानेले तीन तीन विकेट लिँदा कमल परियार र अमृत गुरुङले दुई दुई विकेट लिए । २०२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गण्डकी प्रदेशको सुरुआत पनि राम्रो रहेन । गण्डकीका लागि अश्विन रानाले सर्वाधिक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अरुले दोहोरो अंकमा रन बनाउन असफल हुँदा ४ खेलाडीले खाता पनि खेल्न सकेनन् ।

गण्डकीलाई रोक्ने क्रममा शेर मल्लले सर्वाधिक ५ विकेट लिए । उनले ८.२ ओभरमा १ ओभर मेडन राख्दै २३ रन खर्चिएका थिए । यसैगरी गजेन्द्र बोहराले २ विकेट लिँदा भोजराज भाट, नरेन साउद र मिलन बोहराले एक एक विकेट लिए । जितसँगै ३ खेलबाट ६ अंक बनाएको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १६:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया