६० किलो सुन प्रकरण : जिल्लाले थुनामा पठाएका १८ मध्ये ६ जनालाई धरौटीमा छाड्ने उच्चको आदेश

उच्च अदालत पाटनले थुनामा रहेका ६० किलो सुन प्रकरणका ६ अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले १८ अभियुक्त थुनामा पठाउने निर्णय गरेको थियो ।

उच्चले तीमध्ये ६ जनालाई धरोटीमा छाड्ने आदेश दिएको हो । बाँकी १२ जनालाई भने थुनामै राख्न उच्चले आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले सो आदेश गरेको हो।

उच्चको आदेशअनुसार कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुली धरौटीमा छुट्ने भएका छन् । दावा छिरिङ, टासी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा पठाउने जिल्लाको आदेश सदर भएको छ । 

धरौटीमा छुट्नेमध्ये श्रेष्ठ र भट्टबाट जनही एक लाख, पौडेल र नेपालीबाट जनही पाँच लाख र गौतम र पराजुलीबाट जनही दुई लाख रुपैयाँ धरौटी लिएर छोड्ने आदेश गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो। जिल्लाको आदेशविरुद्ध १७ जनाले निवेदन दिएक थिए । सोही निवेदनका आधारमा बुधबार उच्च अदालतले यस्तो आदेश दिएको हो । 

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसपछि सरकारी वकिलले २९ जनाविरूद्ध भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 



तीमध्ये कलैया उपमहानगर–१ का भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका हाल फरार छन्।

राजस्व अनुसन्‍धान विभागले गत साउन २ गते त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेकसु बरामद गरेको थियो। बरामद भएको उक्त ब्रेकसुभित्र ६० किलो ७१६ ग्राम सुन भेटिएको थियो । 
 



  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार २२:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया