सवारी दुर्घटना : छ महिनामा एक हजार एक सय ३७ को मृत्यु

चालू आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालू आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक सय ३७ ले ज्यान गुमाएका हुन् । 

ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन् । 

तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएको ढकालले बताए । ‘डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ,’ उनले भने । 

प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार आठ सय ५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौं उपत्यकामा पाँच हजार आठ सय ६५, कोशी प्रदेशमा एक हजार छ सय ३९, मधेसमा तीन हजार एक सय ९०, बागमतीमा सात सय छ, गण्डकीमा एक सय ९५, लुम्बिनीमा छ सय छ, कर्णालीमा चार सय ९५ र सुदूरपश्चिम प्रदेशमा एक सय ६० सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा १० हजार तीन सय ५३ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकल रहेको छ ।

तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लंघन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सु–कुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो ।



काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत  काम गरिरहेको बताए । 

उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ थियो ।



  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार २२:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया