बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदन गृहमन्त्रीले बुझे, कार्यान्वयन होला ?

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ ।

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गरिने बताए । गत १३ पुसमा ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।   

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत १६ पुसमा जाँचबुझ आयोग गठन गरेको थियो । 

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले गत २० पुसदेखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।

आयोगका अध्यक्ष पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्यसहित १६ जनाको बयान अभिलेख गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान लिएको जनाइएको छ ।

इपिएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुतको परीक्षण प्रतिवेदन तयार गरिएको थियो ।



यसैगरी, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवं प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसिटिभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटिभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनालाई गहन अध्ययन तथा विश्लेषण गरिएको विज्ञप्तिमा उल्लेख छ ।  



  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १९:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया