‘संघीयता कर्णालीवासीका लागि वरदान’

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संघीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन् । ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

संघीय व्यवस्थाकै कारण यहाँका नागरिकको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको उनले बताए । संविधानले व्यवस्था गरेका साझा तथा एकल सूचीका अधिकारको भरपुर उपयोगले संघीयता अझ बलियो बन्ने उनको ठम्याइ थियो । 

‘तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अगाडि बढ्नुपर्दछ,’ प्रदेश प्रमुख परियारले भने, ‘त्यो हुनसके मात्र कर्णालीको जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारको विकास हुनसक्छ ।’ 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कर्णालीलाई चिनाउन गरिएको उत्सवः कुडा कर्नालीले थालेको बहसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ थियो ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनःनिर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । कर्णालीको रुपान्तरणका लागि चिन्तनका साथै गन्थन, मन्थनबाट कर्णाली केलाइने आयोजक संस्था ऋति फाउण्डेसनले जनाएको छ ।

उद्घाटन सत्रमा आयोजक सहर ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा मन्तव्य व्यक्त गर्दैै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ सवाल पैदा भएको बताइन् । कुराबाट विचार उत्पन्न भएर विचारले विकासमा टेवा पुग्ने बताउँदै उनले सामाजिक न्यायका हिसाबले पछि परेको कर्णालीका लागि नवीन बहस जरुरी रहेको जनाइन् । 



ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णालीमा राष्ट्रिय स्तरको बहसको आवश्यक रहेको महसुस गरी ०७६ देखि कर्णाली उत्सवको यात्रा निरन्तर चलिरहेको जानकारी दिए । उनले भने, ‘कर्णालीले आफ्नो कुरा आफैँ भन्न र विचारको बहसबाट देशको चिन्तन गर्न थालेको छ ।’ कर्णालीलाई मात्र नभई देशलाई अन्तर्राष्ट्रियस्तरमा चिन्न चिनाउन उत्सव उत्प्रेरक बनेको उनले दाबी गरे । 

उद्घाटन समारोहमा डा. सुधा शर्माले विद्वत् प्रवचन, इतिहासकार प्रा.डा. राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको ‘अ जर्नी फ्रम जर्जी टु कर्णाली’को विद्वत् प्रवचन प्रस्तुत गरिएको थियो । पैकेलोको रूपमा जीवन प्रशिक्षक नरबहादुर कार्कीले आफ्नो जीवनी प्रस्तुत गरे । 



उत्सवको पाँचौँ संस्करणमा १३ सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्वत् ​प्रवचन र हरेक दिन सांगीतिक/साहित्यिक साँझ सञ्चालन हुने मूल आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए । 

  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार २२:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया