भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन् । 

आज शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्रमा गुणात्मक परिवर्तन गर्न नसकिएको बताए । 
    
आन्तरिक सुशासन कायम नगरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण तथा जनतालाई सहज सेवा प्रवाह हुन नसक्ने स्पष्ट पार्दै उनले सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र मानी अगाडि बढेको बताए । समृद्धिका लागि सुशासन पहिलो सर्त भएकोसमेत उनको भनाइ थियो ।
    
०७९ चैत्र ६ गतेको निर्णयअनुसार इलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो । त्यसको करिब नौ महिनापछि २०८० पुस ३ गते कार्यक्षेत्र विस्तार एवं कार्यालय व्यवस्थापन गर्ने गरी गृहमन्त्रीस्तरको निकाय भएपछि मात्र इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।
    
इलाका प्रशासन कार्यालय मानपकडीबाट शुद्धोधन गाउँपालिकाको सातवटै वडा, गैडहवा गाउँपालिकाको ९ वटै वडा, सियारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ तथा मायादेवी गाउँपालिकाको वडा नम्बर १ र २ गरी २२ वटा वडाका लागि सेवा प्रवाह हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । 

उनले यो केन्द्रबाट करिब एक लाख २९ हजार जनाले सेवा लिने गरी कार्यालयको स्थापना गरिएको बताए । यससहित रुपन्देहीमा इलाका प्रशासनको संख्या तीन पुगेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र कोटहीमाई गाउँपालिकामा यसअघिदेखि नै इलाका प्रशासन कार्यालय छन् ।





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार २०:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया