एनआरटीलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा

क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) ​ फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ ।   

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ ।  

चर्च ब्वाइजको जितका लागि एक मात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औं मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई ‘लाहुरे’ले दिएको पासलाई फकुन्लेले गोलमा परिणत गरेका थिए ।

चर्च ब्वाइजका मिलन राईले खेलको ३२औं मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार गोलरक्षक पुजन होनाले उत्कृष्ट बचाउ गरे । ८५औँ मिनेटमा अनमार्क रहेका बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोष्टको बायाँपट्टि गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

एनआरटीले खेलको २२औं मिनेटमा पाएको अवसर गुमायो । चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयममा अनमार्क रहेका विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए । ८०औं मिनेटमा सरोज तामाङले गरेको फ्री किक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भएको हो ।

एनआरटी पाँच पटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९०औं वार्षिकोत्सव मनाउन लागेको छ । भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको छ ।



खेलको प्लेयर अफ दी म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चार पटकको झापा गोल्ड कपको विजेता टोली हो । साबिक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको छ ।

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिमका मुख्य खेलाडीको अभावमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए । टिम सेट हुन समय नपुगेकाले अवसर सिर्जना भए पनि स्कोर गर्न नसकिएको उनको भनाइ छ ।



एनआरटीका प्रशिक्षक जीवन सिङकेमानले फिनिसिङको अभाव टिममा देखिएको बताए । मुख्य दुईजना खेलाडी टिममा नभएका कारण तालमेल नमिलेर हार ब्यहोर्नु दाबी गरे ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र ट्रफी पाउनेछ भने उपविजेताले नगद ७ लाख पाउने छ । 

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ६:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया