नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिए ।
‘सरकार अल्पमतमा परेर कामचलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ’, उनले भने ।
बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताए ।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।