मन्त्रीलाई शपथ गराउँदागराउँदै प्रदेश प्रमुख बर्खास्त

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी प्रदेशका मन्त्रीलाई शपथ गराउँदै गर्दा बर्खास्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री नियुक्त गरेका छन्। 

नागरिक उन्मुक्तिको संसदीय दलका पूर्वनेता लक्ष्मणकिशोर चौधरी विनाविभागीयमन्त्रीमा नियुक्त भएपछि उनलाई पद तथा गोपनीयताको शपथ गराउँदै गर्दा प्रदेश प्रमुख जोशीको पद गएको हो । 

प्रदेश प्रमुख जोशीले नवनियुक्त मन्त्रीलाई शपथ गराउँदै गर्दा यता मन्त्रिपरिषद बैठकले उनीसहित तीन प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरिरहेको थियो ।

सोमबारको मन्त्रीपरिषद बैठकले तीन प्रदेशमा प्रदेश प्रमुख पदमुक्त गरेको निर्णय गरेको थियो । त्यतिबेला प्रदेश प्रमुख जोशी मन्त्रीलाई शपथ गराएर आफ्नो कार्यकक्षमा मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूसहित बसिरहेका थिए । सरकारले सुदूरपश्चिमको प्रदेश प्रमुखमा नजिर मियाँको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।

यसअघि अल्पमतमा परेका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट गत शुक्रबार थप दुई मन्त्री तथा एक राज्यमन्त्री नियुक्त गरेका थिए। एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी रहेको नागरिक उन्मुक्तिले राज्यमन्त्री फिर्ता बोलाएर नयाँलाई पठाएको थियो।

योसँगै आठसदस्यीय प्रदेश सरकारमा नागरिक उन्मुक्तिका मात्रै पाँच मन्त्री छन्। केन्द्रमा गठबन्धन फेरिएसँगै सुदूरपश्चिम सरकार गठनका लागि निर्णायक बनेको नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाले मन्त्री बन्ने अवसर पाएका हुन्।





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार २०:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया