मेरो जन्म भएको कास्कीलाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा गर्व र हर्षको महसुस भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रूपमा आयोजनामा गरेकाे कार्यक्रममा प्रचण्डले उक्त घोषणा गरेका हुन्। 

पर्यटनको राजधानी घोषणा पश्चात पोखराको मात्रै नभएर गण्डकी प्रदेश र सिंगो देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको उनले बताए। ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ उनले भने, ‘मेरो जन्म भएको कास्कीलाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा गर्व र हर्षको महसुस भएको छ।’

विविधतालाई एकै ठाउँमा संकेन्द्रित गरी व्यवस्थित प्रचारप्रसारको माध्यमबाट पर्यटन प्रवर्द्धनमा गुणात्मक नतिजा हासिल गर्न सकिने भन्दै उनले यस घोषणाले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ‘ब्राण्डिङ’ गर्ने उनले बताए। पोखरा सम्भावनाले भरिएको सहर भएको भन्दै उनले यहाँका नदीनाला, तालतलैया, गल्छीहरू, छाँगा र हिमश्रृङ्खलाले सहरको सुन्दरतालाई अनुपम बनाएको प्रचण्डले बताए। 

उनले भने,‘पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित अभ्यासलाई मध्यनजर गरी पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले विश्वको पर्यटन बजारमा पोखराको ब्राण्डिङ गर्ने, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जिवनस्तरमा गुणात्मक अभिवृद्धि गर्नेछ ।’ 

पर्यटकीय राजधानी घोषणा पश्चात आवश्यक कानुनी, प्रक्रियागत सुधार र रणनीतिक योजनासहित पर्यटकीय पूर्वाधार बनाउन गण्डकी सरकार र पोखरा महानगरले सहकार्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको धारणा छ। निजी क्षेत्रको सेवामा गुणस्तर वृद्धी र क्षमता विकास आवश्यक रहेको भन्दै उनले सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। 

भौतिक विकासलाई मात्र विकास मान्न नहुने भन्दै उनले मानवीय विकासलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिए।





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १६:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया