रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा छ : परराष्ट्रमन्त्री श्रेष्ठ
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले संसद्मा उठेका विषयमा स्पष्ट पार्दै रुसी वा कुनै पनि मुलुकमा नेपालीलाई सेनामा भर्ती हुन वैधानिकरुपमा नपठाइएको बताउँदै त्यहाँ पुगेर सेनामा लुकीछिपी काम गर्ने र युक्रेनमा बन्दी हुन पुगेका नेपाली नागरिकको उद्धारका लागि समकक्षी मन्त्रीसँग संवाद गरेको जानकारी गराए ।

उनले रुस सरकारले त्यहाँ मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया प्रारम्भ गरेको र सेनामा काम गरेकालाई करार रद्द गरी नेपाल फर्काउन सकारात्मक पहल भइरहेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय हित तथा परराष्ट्र सम्बन्धका विषयमा गम्भीरता र संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक आचारसंहितालाई प्रभावकारीरूपमा लागू गर्ने जानकारी दिए ।

उनले मुलुकको परराष्ट्र नीति र कूटनीतिक सम्बन्धका बारेमा राष्ट्रिय हित तथा सहमतिका आधारमा संयमतापूर्वक विचार व्यक्त गर्न सङ्घीय र प्रादेशिकसभाका शीर्ष नेता एवं सांसदलाई आग्रह गरे ।

‘हामीले हाम्रो देशलाई केन्द्रमा राखेर कूटनीतिक मामिलामा सहमतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ, हामीले कहीँकतै अन्य स्वार्थ हाबी गर्न पुगेमा पुर्खाले दिएको सार्वभौम र स्वतन्त्र नेपालको रक्षामा गम्भीर चुनौती खडा हुन सक्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसैले एक स्वतन्त्र र सार्वभौम मुलुकका नागरिकका रूपमा आफूलाई प्रस्तुत गरी कूटनीतिक आचारसंहिता पालना गर्न म सबैलाई आग्रह गर्दछु ।’  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १४:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया