इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित

इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा वर्तमान रक्षामन्त्री प्राबोवो सुब्यान्टो निर्वाचित भएका छन् । १४ फेब्रुअरीमा भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक गर्दै प्राबोवो राष्ट्रपतिमा निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ । 

उनले अब जोको विडोडोको स्थान लिनेछन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्नो अधिकतम दुई कार्यकाल पूरा गरेका छन् । बुधबार मतगणना सकिएपछि सुब्यान्टोले ५८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनीसँग चुनाव लडेका जकार्ताका पूर्व गभर्नर एनीस बास्वेदनले २४ दशमलव ९ प्रतिशत र सेन्ट्रल जाभाका पूर्व गभर्नर गन्जर प्रनोवोले १६ दशमलव ५ प्रतिशत मत प्राप्त गरे । तर, पराजितद्वय अनीस बास्वेदन र गञ्जर प्रणोभोले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । 

दुवै उम्मेदवारले निर्वाचन परिणामलाई अदालतमा चुनौती दिने बताएका छन् । दुवै नेताले यही साता अदालतसमक्ष यो विषय पेस गर्नुपर्नेछ । इन्डोनेसियामा चुनावी विवादलाई आधिकारिक नतिजा घोषणा भएको तीन दिनभित्र अदालतमा चुनौती दिन सकिने व्यवस्था गरिएको छ ।

इन्डोनेसियाले सन् १९९८ देखि लोकतान्त्रिक अभ्यास अपनाउँदै आएको छ । इन्डोनेसियाको २७ करोड जनसंख्यामध्ये करिब २० करोड मानिस मतदाता छन् । राष्ट्रपतिको चुनाव जित्नका लागि उम्मेदवारले कुल मतको ५० प्रतिशत र सबै राज्यमा २० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।



कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने व्यवस्था छ । प्रबोवोले ५० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन् । 

लगातार तेस्रोपटक राष्ट्रपतिको चुनाव लडेका उनी यसअघि २०१४ र २०१९ मा जोकोवीसँग पराजित भए पनि तेस्रो पटक राष्ट्रपति निर्वाचनमा विजयी बनेका छन् ।वर्तमान राष्ट्रपति जोकोवीका छोरा जिब्रान राकाबुमिङ राकाले सुब्यान्टोसँगै उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका छन् । 



  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ८:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया