सामाजिक सञ्जाल र सञ्चारमाध्यमका कारण साम्प्रदायिक सद्भाव बिथोलिएको गृहको निष्कर्ष

गृह मन्त्रालयले देशका विभिन्न भागमा साम्प्रदायिक सद्भाव बिथोल्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोग भएको निष्कर्षमा पुगेपछि ६८ बुँदे निर्देशन जारी गरिएको स्पष्ट पारेको छ ।

गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै गृहको निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लक्षित नभएको स्पष्टीकरण दिए ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर नेपालगञ्जमा साम्प्रदायिक सद्भाव भड्काउने किसिमको काम भएपछि कफ्र्यु लाउनुपर्ने बाध्यता आएको उदाहरण दिँदै सचिव अर्यालले त्यसको असर अरु क्षेत्रमा पनि परेको बताए ।

सुरक्षा अवस्थाको चर्चा गर्दा सचिव अर्यालले पटक–पटक साधनस्रोतको अभाव रहेको औँल्याएका थिए । उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग पर्याप्त साधन स्रोत नभएकाले अपराध नियन्त्रण, अनुसन्धान र सीमा सुरक्षा अनुगमनमा कठिनाई परेको चर्चा गरे । अर्यालले मधेशमा सुरक्षा चुनौती अन्यत्र भन्दा बढी भएको भन्दै तश्करी, दलाली र अपराध कर्ममा संलग्न व्यक्ति तथा समूहले राजनीतिक संरक्षण पाएको पनि औँल्याएका थिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसमेत उपस्थित समितिको बैठकमा सचिव अर्यालले शान्ति सुरक्षा मजबुत पार्न स्थानीय तहका प्रशासन र सुरक्षा निकायलाई पनि पर्याप्त साधन स्रोत उपलब्ध गराउनुपर्ने भन्दै अर्थ मन्त्रालयलाई स्रोत उपलब्ध गराइदिन राज्य व्यवस्था समितिले निर्देशन गरिदिनुपर्ने माग पनि गरे । 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नयाँ सरकार बनेपछि समितिको पहिलो बैठकमा गृह प्रशासन र शान्ति सुरक्षाको अवस्थाबारे अवगत हुन बैठक बसेको बताए । गृह, रक्षा र सुरक्षा अंगका महत्वपूर्ण निकायको भूमिका सेवा प्रवाहको नियमित अनुगमन गर्दै अझ प्रभावकारी बनाउन समितिले छलफल आयोजना गरिरहने खतिवडाले बताए ।





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १६:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया