काठमाडौं मेयर कप : विभागीय डर्बीमा पुलिसको जित

काठमाडौं मेयर कप अन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ । उसले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । 

पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३९ रनको योगदान दिए । १७.४ ओभरमा साहब आलमले बोल्ड गराउनुअघि उनले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

पवन सरार्फले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सातै विकेट साहब आलमले लिए । 

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो । 



उसका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । लोकेश बमले सर्वाधिक ३२ रनको योगदान दिए । ३०.१ ओभरमा ललित राजवंशीले एलबिडब्ल्युको सिकार बनाउनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

विक्रम सोबले १४ र रोहित पौडेलले १३ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ५, पवन सरार्फले ३ र ललित राजवंशीले २ विकेट लिए । 

पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा एपिएफसँग १ विकेटको पराजय बेहोरेको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई ५ विकेटले हराएको थियो ।

  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १३:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया