छक्का पञ्जा घटस्थापनामा, जय भोले फुलपातीमा

काठमाडौं– पछिल्ला दिन दीपकराज गिरी समूहले बनाएको छक्का पञ्जाको फिल्मको तेस्रो शृङ्खला निकै चर्चामा छ । यसअघिका दुवै फिल्म सफल भएकाले मात्र होइन, सिक्वेलको तेस्रो फिल्म पनि दशैंको छेकमा रिलिज हुने भनिएकाले पनि यो क्षेत्रमा तरङ्ग उत्पन्न भएको थियो ।

किनकि यही समयमा ‘जय भोले’ पनि रिलिज हुने फिल्मी क्षेत्रमा बहसको विषय बनिरहेको थियो । दुवै ठूला ब्यानरका फिल्म भएकाले पनि यी दुई फिल्म जुध्लान् र भन्ने प्रश्न धेरैले गरेका थिए । तर, दुवै पक्षबीच बारम्बार भएका वार्ताले कुनै ठोस निष्कर्ष निकाल्न सकेका थिएनन् । 

दुवै फिल्म दशैंको मौका छोपेर बसेको भए पनि ‘जय भोले’ को सार्वजनिक भएको गीत र ट्रेलरमा रिलिज मिति राखिएन । फिल्मका निर्माता तथा निर्देशक अशोक शर्माले दशैंवरिपरि घाम लाग्ने दिन हेरेर फिल्म रिलिज गर्ने बताएपछि झनै ठूलो तरङ्ग आयो । निर्माता तथा निर्देशक शर्माको यही भनाइका कारण ‘छक्का पञ्जा ’ टिमले गीत र पोस्टरमा रिलिज मिति राख्यो । 

त्यसैले दुवै फिल्म एकै दिन रिलिज हुने हुन् कि भन्ने आशङ्का जन्मियो । तर, अब आएर दुवै समूहबीच सहमति भएको छ । ‘छक्का पञ्जा ’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरीले, ‘छक्का पञ्जा घटस्थापनाको दिन र जय भोले फुलपातीको दिन’ भनेर ‘जय भोले’को पनि रिलिज मिति तोकिदिए । 

गिरीले रिलिज मिति ठूलो कुरा नभएको र दुई फिल्म जुध्न नहुने बताउँदै दुवै फिल्मको सफलताका लागि रिलिज मितिमा सहमती जुटेको बताए । उनले भने, ‘दुई फिल्म जुध्दा फिल्म उद्योगको अहित चाहने तत्वहरु सलबलाउँछन । यसकारण मिलेर अगाडि बढ्नुपर्छ भनेर म र अशोक दाईबीच धेरैपटक वार्ता भयो । मैले उहाँलाई फुलपाती या घटस्थापनामध्ये एक मितिमा आउनु भनेँ । उहाँले फुलपाती रोज्नुभयो ।’





  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार २१:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया