भाडा समायोजनसँगै बढ्यो ट्याक्सीको भाडा

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन भएसँगै ट्याक्सीको पनि भाडा वृद्धि भएको छ । आइतबार समायोजन भएको भाडा दरअनुसार ट्याक्सीका भाडा प्रतिकिलोमिटर  ४ रुपैयाँ बढेको छ । 

अहिलेसम्म प्रतिकिलोमीटर ३५ रुपैयाँ प्रति किलोमिटर रहेको भाडादर समायोजनपछि भने ३९ रुपैयाँ प्रतिकिलोमीटर तोकिएको छ ।  

तर, फ्ल्याग डाउन (ट्याक्सी चढ्दा मिटरमा देखिने मूल्य) को दरमा कुनै परिवर्तन भएको छैन । यसअघि फ्लागडाउन दर १४ रुपैयाँ थियो । त्यसपछिको प्रति २ सय मिटरमा साविकको ७ रुपैयाँ परिवर्तन गरेर ७ रुपैयाँ ८० पैसा कायम भएको छ ।

 यस्तै, विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौं उपत्यकाभित्र सहरी क्षेत्रमा भने यो नियम लागू हुनेछैन । 
यस्ता ट्याक्सीले पाँच किलोमिटरसम्मका लागि ४ सय ८१ रुपैयाँ तिर्दै आएकोमा मूल्य समायोजनपछि ५ सय २९ रुपैयाँ १० पैसा तिर्नुपर्छ । पाँच किलोमिटरभन्दा बढीको लागि भने अहिले प्रतिकिलोमिटर ६८ रुपैयाँ लिँदै आएकोमा यसको १० प्रतिशत बढाएर ७४ रुपैयाँ १० पैसा कायम गरिएको छ । 

यसैगरी, उपत्यकाभित्र अधिकतम १ हजार ५२ रुपैयाँ लिन पाउनेमा समायोजनपछि १० प्रतिशत वृद्धि गरेर १ हजार १ सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ । 

नेपाल सरकारले सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा ३५ प्रतिशत इन्धन र अन्य सूचकको अंक ६५ प्रतिशत मानेर निर्धारण गर्दै आएको छ । यसअघि ०७२ माघ २५ गते भाडादर निर्धारण भएको थियो । यसबीचको तीन वर्षमा इन्धनको मूल्यमा वृद्धि भएपछि भाडा भाडादर समायोजन गरिएको हो ।



यसअघि भाडादर समायोजन हुँदा पेट्रोलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ थियो भने डिजेलको मूल्य ७५ रुपैयाँ प्रतिलिटर थियो । तर, अहिले पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेललाई १ सय १ रुपैयाँ पर्छ । 

यसपटक भाडा निर्धारणका अन्य सूचकलाई यथावत राखी हिसाब गर्दा १० प्रतिशत भाडादर बढाउनुपर्ने देखिएको थियो । त्यसैलाई आधार मान्दै नेपाल सरकारले ७ असोजदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो ।
 



  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार ११:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया