‘के लत बस्यो’ लाई १७ दिनमै साढे ३१ लाख भ्यूज

चर्चाको शिखरमा रहेको गजल ‘के लत बस्यो’ ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा साढे ३१ लाख भ्यूज पाएको छ । गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख ५८ हजारपटक हेरिएको हो ।  

१ लाख १७ हजारले ‘लाइक’ र झन्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत २८ पुसमा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो ।

राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भए । उनकै सङ्गीत रहेको गजललाई डा. प्रदीकुमार मैनालीले लेखेका हुन् ।

गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन्। शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ ।

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ।

पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ। डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइएकाे बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ ।



गायक पेलाले स्टुडियोमा गाइरहेको, डा. मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा. मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।



उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु-२’, र सोही एल्बमको तेस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।

  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ७:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया