लेजेण्ड्स क्रिकेट लिगमा पारसआवद्ध एसियाको लगातार दोस्रो जित

कतारमा जारी लेजेण्ड्स क्रिकेट लिगमा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काआवद्ध एसिया लायन्सले लगातार दोस्रो जित निकालेको छ । 

दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई ३५ रनले हरायो । पहिलो खेलमा एसियाले इण्डिया महाराजसलाई ९ रनले हराएको थियो ।

वर्ल्ड जायन्ट्सको यो पहिलो हार हो । उसले पहिलो खेलमा इण्डिया महाराजसलाई २ रनले हराएको थियो । दोस्रो खेलमा एसिया लायन्सले दिएको १ सय रनको लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन मात्र बनाउन सक्यो । उसका लागि क्रिस गेलले १६ बलमा तीन छक्कासहित सर्वाधिक २३ रन बनाए ।

त्यस्तै, लेन्डन सिमन्सले १४, रस टेलरले सात, शेन वाटसनले तीन, र कप्तान आरोन फिन्च दुई रन बनाए । एसियाका लागि कप्तान शाहिद अफ्रिदीले, अब्दुर रजाकले दुई/दुई र सोहेल तनवीरले एक विकेट लिए ।

त्यसअघि दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो ।

मैदान भिजेका कारण निर्धारित समयभन्दा झन्डै तीन घण्टापछि खेल सुरु भएपछि खेल १०/१० ओभरमा झारिएको थियो । लायन्सका मिस्बाह–उल–हकले १९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।



त्यस्तै, तिलकरत्ने दिलशानले अविजित ३२, थिसरा परेराले १०, कप्तान शाहिद अफ्रिदीले दुई र उपुल थरंगाले एक रन जोडे । प्लेइङ–११ मा मा समावेश भए पनि पारसले दोस्रो खेलमा ब्याटिङ र बलिङमा मौका पाएनन् ।

अघिल्लो खेलमा उनले २ बलमा ३ रन बनाएका थिए । एसिया अंक तालिकाको शीर्ष स्थानमा छ । उसले अब तेस्रो खेलमा मंगलबार इण्डिया महाराजसविरुद्ध खेल्नेछ । 



  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार ७:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया