कर्णालीका स्थानीय सरकारले दिए बजेट कार्यान्वयनलाई तीव्रता

कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् ।    चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले  स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न केन्द्रित भएका हुन् । हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ  ।

 दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू  कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए । 

अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ । उनले भने, ‘बजेट सक्नाकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ । यसैलाई मध्यनजर गरेर असारअगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ ।’

नगरपालिकाबाट विनियोजित दुई सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले दिए । उक्त नगरपालिकाले चालु आवमा ११ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिकास्तरबाट तोकिएका योजनाका योजनाका लागि  विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय भएको हो । 

कालीकोटको पचालझरना गाउँपालिकाले पनि आव २०७९/८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ । 

गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि  नौ करोड रुपैयाँ विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए । उनले भने, ‘भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ ।’



सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ । ‘अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको छ’, नगरप्रमुख जनकराज गौतमले भने,  ‘विगतका वर्षमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रित विकास हुँदा विकासका कामसमेत गुणस्तरीय नहुने अवस्था थियो । त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वयन छिट्टै गर्नेगरी काम गरेका छौँ । असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजना तयार गर्न छलफल गर्ने महिना हो नी ।’ 



  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १२:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया