चितवन २ मा १२ दलसहित २४ जनाको उम्मेद्वारी दर्ता

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार १२ वटा राजनीतिक दलका उम्मेदवार र १२ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । 

राजनीतिक दलतर्फ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका सानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, जयजन्मभूमि पार्टीका प्रेमबहादुर खड्का, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका छत्रकुमार पाख्रिन, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, राप्रपाका जिवलाल पुरी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका राजेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै स्वतन्त्रतर्फ सूर्य श्रेष्ठ, विक्रम श्रेष्ठ, डा. भोजराज वगाले, सुवास परियार, सुदर्शन कँडेल, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, सन्तोष थापा, अम्बिका भट्ट, लक्ष्मिमाया कोइराला, रामकृष्ण ओझा र चक्रपाणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

सहायक निर्वाचन अधिकृत आचार्यका अनुसार २१ गते मंलबार उजुरी दर्ता, २२ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २३ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरणको काम हुनेछ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । 



यस क्षेत्रमा एक लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् ।  उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्नेछन् ।



  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार २०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया