नयाँ वर्षका दिन आउँदै छन् यी चार चलचित्र

आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदै छ । यसअगाडि यस्तो संख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । 

वैशाख १ गते ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’  एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाइँ नभन्नू ल’को छैटौँ शृंखलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । 

यसमा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारीलगायतको अभिनय छ । ‘प्रेमकथाकै निरन्तरता पाउनुहुनेछ । दर्शककै मायाले छैटौँ शृंखलासम्म आइपुगेका छौँ । यसपटक द्वन्द्व पनि छ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भने ।  

सोही मितिमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शन हुँदै छ । लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतको अभिनय छ ।

सोही मितिमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतको अभिनय छ । प्रवेश पौडेल निर्देशक रहेको चलचित्रमा बिहे गर्नको लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । ‘निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि ?’ अभिनेता राईले भने । 

यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन् । यसमा सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गरेका छन् । 



नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए । ‘एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । बिदालाई लक्षित गर्दै दुईसम्म चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ,’ वितरक श्रेष्ठले भने । 

चैत महिनामा पहिलो नेपाली चलचित्र ‘प्रेमा’ १७ गते प्रदर्शन भएको छ । यस्तै, चैत २४ मा दुई चलचित्र प्रसाद २ र बहाव प्रदर्शन हुँदै छ । विदेशी चलचित्रबाट जोगिँदै र स्वदेशी बिदालाई ध्यान राख्दै प्रदर्शन तय हुँदा चलचित्रको भीडभाड मसान्त र नयाँ वर्षमा बढेको हो ।



  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार २०:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया