सुदूरपश्चिम प्रदेश : भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा सुदूरपश्चिम सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । २६ माघमा मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले २७ माघमा शपथग्रहण गरेसँगै दुई मन्त्री नियुक्त गरेका थिए । 

त्यही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रीमा नरेश शाही नियुक्त भएका थिए । त्यसयता दुई महिना पुग्नै लाग्दा पनि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनले २१ फागुनमा माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट विश्वासको मत पाएका थिए ।

मुख्यमन्त्री शाहले केन्द्रमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगत्तै प्रदेश सरकार विस्तार गर्ने बताएका  थिए । तर, उनले अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

शीर्ष दलहरूबीच सहमति, प्रदेश मन्त्रालयको नेतृत्व र भागबण्डाबारे समझदारी नबन्दा मन्त्रिमण्डल विस्तारमा अन्योल बढेको हो । सरकार विस्तार गर्दा मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति र माओवादीलाई पनि समेट्नुपर्ने भएकाले कुन–कुन मन्त्रालय दिने भन्ने ठोस सहमति भइनसक्दा सरकार विस्तारमा ढिलाइ भएको कांग्रेसका एक नेताले बताए ।

कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी गरी ४ दलको सरकार बन्ने हुँदा कुन र कति मन्त्रालय दिने निर्णय शीर्ष नेताबाटै टुङ्ग्याउने बताए पनि सहमति हुन सकेको छैन ।

माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरे पनि मुख्यमन्त्री शाह भने दुई मन्त्रालय दिने योजनामा छन् । यस्तै नागरिक उन्मुक्तिले दुई मन्त्रालय र एक राज्य मन्त्रीमा दाबी गरेको छ । तर, मुख्यमन्त्री शाही भने नागरिक उन्मुक्तिको दाबीमा सकारात्मक छैनन् ।



यस्तो अवस्थामा माओवादी र नागरिक उन्मुक्तिले २/२ मन्त्रालय, कांग्रेसले मुख्यमन्त्री र एक मन्त्रालय तथा नेकपा एकीकृत समाजवादी एक मन्त्रालय प्राप्त गर्ने देखिन्छ । कांग्रेसले मुख्यमन्त्रीसहित एक मन्त्री र नेकपा एकीकृत समाजवादीले एक मन्त्रालय पाइसकेका छन् ।   

सत्तारुढ गठबन्धनले सबै प्रदेशमा प्याकेजमा सहमति गर्ने माओवादी र कांग्रेस नेताहरूले बताएका छन् । सत्ता साझेदार दलमध्ये नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग राख्दै आएको छ । 



माओवादीका सुदूरपश्चिम इन्चार्ज तथा संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहबाटै सबै कुराको टुङ्गो लाग्ने बताए । आफू सरकारको नेतृत्वको अडानबाट पछि नहटे पनि शीर्ष नेतृत्वको समझदारीलाई कायम गर्ने उनले बताए ।

प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकार गैरजिम्मेवार भएकाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएको छ । एमाले सांसद धर्मराज पाठकले कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन जनताप्रति गैरजिम्मेवार देखिएको बताए । बजेट बनाउने समय आइसक्दा पनि सत्तारुढ गठबन्धनको ध्यान कुर्सीको भागबण्डामै केन्द्रित रहेको उनको भनाइ छ । 

मुख्यमन्त्री शाहले मन्त्रिमण्डल विस्तारमा अझै समय लाग्ने बताउने गरेका छन् । राष्ट्रिय राजनीतिमा नयाँ बनेको समीकरण गर्दा ढिलाइ भएको बताउँदै १० दिनभित्रमा मन्त्रिमण्डलले पूर्णता पाउने उनको दाबी छ ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक/एकजना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् ।

  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार ९:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया