पहिलोपटक बस आउँदा स्थानीयमा खुसियाली

व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलोपटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । 

०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना६ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविर जात्रासहित स्वागत गरेका हुन् । 

यस मार्गमा सवारी साधन सञ्चालन नहुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका–६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताइन् ।

चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अविर जात्रासहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलोपटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूलाई अविर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताए । 

आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । 

घाँसीकुवादेखि भानु नगरपालिका–६ पड्के पसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटर मार्ग पर्दछ । तर, थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । 



चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटर मै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको र भाडा दर न्यूनतम तोकिएको उक्त मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले बताए । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उनले बताए । 

उक्त मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्याह्न ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उनले जानकारी दिए । 



  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार २२:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया